Sunday, September 6

महाधिवेशन रोकिएन भने कांग्रेसलाई विभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

नेपालअखबार,कञ्चनपुर। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेसलाई विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्।

Advertisement

कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए । उनले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दाबी गरे।

Advertisement
Advertisement

विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ।

Advertisement

लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै १४ औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताए।

त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता भए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत आफूहरूले दिएको उनले बताए।

निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत राख्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको लेखकले बताए ।

‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ उनले भने । पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै लेखकले अहिले पनि पार्टी मिलाउने सम्भावना रहेको बताए । उनले भने, ‘अहिले पनि उपाय छ । आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ । यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ ।’ अदालतको फैसला कुरेर अघि बढ्नुपर्ने धारणा पनि लेखकले राखे ।

आधिकारिकता सम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेकाले अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आएको भन्दै त्यसलाई सम्पूर्ण विवादको समाधानका रूपमा लिन नहुने उनको भनाइ थियो ।

लेखकले पार्टी विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशनको प्रक्रिया सुरु गर्ने पक्षले लिनुपर्ने चेतावनीसमेत दिए । कांग्रेसलाई विभाजनबाट जोगाउने अन्तिम उपायका रूपमा महाधिवेशन रोक्न आफूले आग्रह गरिरहेको उनले बताए।