Monday, September 7

अमेरिकाले सञ्चार टावरमा प्रहार गर्दा निशाना चुकेर इरानको विवाह समारोहमा बमबारी भएको हुनसक्ने!

नेपालअखबार,काठमाडाैँ।  दक्षिण इरानको एउटा विवाह समारोहमा मंगलबार भएको बमबारी निशाना चुकेर भएको भनेर अमेरिकी रक्षा मन्त्रालयले छानबिन गरिरहेको छ।

Advertisement

चार जनाको मृत्यु र कम्तीमा ६८ जना घाइते हुने गरी एक घरमाथिको आक्रमण सञ्चार कम्प्लेक्सलाई निशाना लाउँदा भएको भनेर अमेरिकी अधिकारीको हवाला दिँदै द वाशिङ्टन पोष्टले जनाएको छ।

Advertisement
Advertisement

अमेरिकी सेनाले तटीय सहर कुहेस्ताकमा रहेको एउटा सञ्चार कम्प्लेक्सलाई लक्षित हवाई आक्रमण गरेको थियो।

Advertisement

सर्वसाधारण बस्ने क्षेत्रमा रहेको उक्त कम्प्लेक्सको केही भाग इरानी सेनाले आफ्ना गतिविधि सञ्चालन गर्न प्रयोग गर्ने गरेको सूचनाको आधारमा आक्रमण गरिएको ती अधिकारीले बताए।

अमेरिकी नौसेनाका जेटहरूले त्यहाँ रहेको सञ्चार टावरमा निशाना लगाएर छ वटा बम खसालेका थिए। तर तीमध्ये एउटा बमको भने निशाना चुकेर विवाह समारोहमा खसेको थियो। आफूले प्रमाणीकरण गरेका फुटेज अनुसार सो बम टावरबाट लगभग ४४० फिट टाढा रहेको घरको छानामा विष्फोट भएको पोष्टले लेखेको छ।

यसअघि समाचार संस्था रोयटर्सले पनि सो बमबारी अन्य कुनै लक्ष्यबाट उछिट्टिएर नभई प्रत्यक्ष अमेरिकी प्रहारबाट भएको जनाएको थियो।

आफूले सक्कली भनेर प्रमाणित तस्बिर र भिडिओहरूको अध्ययन गरेका हतियार विशेषज्ञहरूको विश्लेषणले सो बिस्फोट प्रत्यक्ष अमेरिकी प्रहारबाट  भएको हुनसक्ने रोयटर्सले खुलासा गरेको थियो।

विवाह समारोहमा भएको यो आक्रमणलाई इरानले युद्ध अपराध भनेको छ।

यो घटनाले युद्धको सुरूमै गत फेब्रुअरीमा दक्षिणी इरानकै मिनाबमा रहेको इरानी प्राथमिक विद्यालयमा क्षेप्यास्त्र प्रहार भएको घटनाको स्मरण गराएको छ।

सो घटनामा लगभग १२० बालबालिका सहित १५० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले सेप्टेम्बर १ मा इरानको दक्षिणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्सका हवाई रक्षा स्थलहरू, राडार प्रणालीहरू र सञ्चार सुविधाहरूलाई लक्षित गरी धेरै आक्रमण गरेको घोषणा गरेको थियो।

त्यसक्रममा कुहेस्ताक नामको सानो सहरमा विवाह समारोहमा पनि प्रहार भएको थियो।

अमेरिकी उप-राष्ट्रपति जेडी भान्सले बिहीवार अमेरिकाले उक्त आक्रमणको अनुसन्धान गरिरहेको बताए।

‘हामी यसको अनुसन्धान गरिरहेका छौं किनभने स्पष्ट रूपमा हामीलाई चिन्ता छ। हामी जान्न चाहन्छौं,’ भान्सले भने।

अमेरिकी सेनाले पनि घटनाबारेका समाचारहरूबारे आफू जानकार रहेको र तिनको छानबिन गरिरहेको बताएको छ।

पोष्टका अनुसार सञ्चार कम्प्लेक्सलाई लगाएको निशाना चुकेर सो आक्रमण भएको भनेर अमेरिकी रक्षा मन्त्रालयले छानबिन अघाडि बढाएको छ।