
नेपालअखबार,काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण ढुवानी प्रभावित हुँदा संघीय राजधानी काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा उल्लेख्य कमी आएको छ ।
पहिरोले मुख्य राजमार्ग अवरुद्ध बनाएपछि उद्योगीहरूले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ हुँदै ट्रकबाट ग्यास ल्याउनुपरेको छ । यसरी घुमाउरो र असहज बाटो प्रयोग गर्नुपर्दा बजारको मागअनुसार पर्याप्त मात्रामा ग्यास भित्र्याउन नसकिएको व्यवसायीहरूले बताउँदै आएका छन् ।
आपूर्तिमा आएको यही समस्याका कारण मंगलबार काठमाडौं उपत्यकामा ९ वटा ग्यास कम्पनीका जम्मा १८ हजार २ सय ५९ वटा सिलिन्डर मात्रै डिलरहरूसम्म पुगेका छन्।
पछिल्ला दिन काठमाडौं उपत्यकामा दैनिक १ लाख सिलिन्डर ग्यासको माग रहेको एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताए । सामान्य दिनमा भने दैनिक ३५ देखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्ने गरेको उनको भनाइ छ ।
नेपाल आयल निगमको एलपीजी विभागले उपलब्ध गराएको तथ्यांकअनुसार मंगलबार सबैभन्दा धेरै सगरमाथा ग्यासले ४ हजार ६ सय ९९ सगर ग्यासका सिलिन्डर बजारमा पठाएको छ । कम्पनीले ६० वटा डिलरमार्फत उक्त संख्यामा सिलिन्डर बजार पठाएको हो ।
एभरेस्ट ग्यासले आफ्ना २८ वटा डिलरमार्फत कुल ३ हजार ४ सय ७५ थान सिलिन्डर वितरण गरेको छ । सुगम ग्यासले आफ्ना १५ वटा डिलरलाई २ हजार ४ सय २३ थान सिलिन्डर उपलब्ध गराएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको स्वामित्वमा रहेको एसटीसी ग्यासका ४४ वटा डिलरमार्फत २ हजार १ सय ४६ वटा सिलिन्डर बजारमा पुगेका छन् ।
अन्य कम्पनीहरूको वितरण अवस्था हेर्दा सीताश्री ब्रान्डले आफ्ना ११ वटा डिलरलाई १ हजार ६ सयवटा सिलिन्डर उपलब्ध गराएको छ । श्री ग्यासले १ हजार ९ सय ६० वटा सिलिन्डर १८ डिलरमार्फत पठाएको छ ।
त्यस्तै, श्रीमाया ग्यासका १४ वटा डिलरमार्फत १ हजार २ सय ९१ सिलिन्डर वितरण हुँदा श्रीराम ग्यासले ९ वटा डिलरलाई जम्मा ३ सय ६० थान र मनोज ग्यासले भने ६ वटा डिलरलाई ३ सय ५ मात्र सिलिन्डर पठाएको आयल निगमले जनाएको छ ।
ढुवानीमा भएको ढिलाइ र मागको तुलनामा बजारमा ग्यासको आपूर्ति निकै कम भएकाले तत्कालका लागि ग्यास वितरण प्रणाली प्रभावित बनेको छ । उपभोक्ताहरू ग्यास पाइने आशामा डिलर तथा उखेगमै दिनरात लाइनमा बसिरहेका छन् ।




