Saturday, September 26

ट्रम्पले अस्वीकार गरे हर्मुज खोल्ने इरानको नयाँ प्रस्ताव

नेपालअखबार,काठमाडौं । अमेरिकाले हर्मुज जलमार्ग सात दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्तावलाई अस्वीकार गरेको भनेर अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले समाचार लेखेको छ।

Advertisement
Advertisement

इरानी विदेशमन्त्री अब्बास अराग्चीले बिहीबार न्युयोर्कमा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष हर्मुज जलमार्ग खोल्न नयाँ सात दिने युद्धविराम प्रस्ताव अमेरिकासमक्ष राखेका थिए।

Advertisement

इरानले निश्चित सर्त पूरा भए सात दिनभित्र हर्मुज खोल्ने र त्यसपछि अमेरिका–इरानबीच युद्धको स्थायी समाधानका लागि व्यापक वार्ता सुरु गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेको थियो।

राष्ट्रसंघको महासभाका क्रममा पत्रकार तथा प्राज्ञहरूको भेलामा अराग्चीले प्रस्ताव स्वीकार भएको भोलिपल्टदेखि सात दिनको समयसीमा सुरु हुने र त्यसपछि हर्मुज खोलिने बताएका थिए।

‘योजना एकदमै स्पष्ट छ। उनीहरूले यो योजना स्वीकार गरेको क्षणदेखि अर्को दिनबाट समयसीमा सुरु हुन सक्छ र सात दिनपछि हर्मुज खुला हुनेछ,’ अराग्चीले भनेका थिए।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्ताव स्वीकार नगरेको वाल स्ट्रिट जर्नलले जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानले अमेरिकाको सर्त र माग पूरा गर्ने शंका व्यक्त गरेका छन्।

बरू इरानमाथि पुनः बमबारी अभियान हुन सक्ने ट्रम्पले बताएका छन्।

इरानको नयाँ प्रस्ताव गत जुनमा अमेरिका र इरानबीच भएको समझदारीपत्रमा आधारित थियो।

उक्त समझदारीमा अप्रिलमा भएको युद्धविरामलाई थप ६० दिन लम्ब्याउने, इरानी तेल निर्यात र ढुवानीमा अमेरिकी प्रतिबन्धबाट छुट दिने तथा हर्मुजबाट हुने समुद्री आवागमनलाई युद्धअघिको अवस्थामा क्रमशः फर्काउने व्यवस्था गरिएको थियो।

त्यस अवधिमा दुवै पक्षले दीर्घकालीन समाधानका लागि वार्ता गर्ने सहमति गरेका थिए।

समझदारीअनुसार इसराइलले लेबननमा तत्काल सैन्य कारबाही रोक्नुपर्ने तथा हर्मुजमा समुद्री आवागमनको भविष्यको व्यवस्थापन इरान र छिमेकी ओमानले तय गर्ने भनिएको थियो।

तर जुलाईको सुरुवातमै उक्त समझदारी भंग भएको थियो।

त्यसपछि इरानले आफूले ‘अनधिकृत’ मार्ग प्रयोग गरेको बताएको केही पानीजहाजमाथि कारबाही गरेको थियो।

अमेरिकी पक्ष भने हर्मुजको विषयसँगै इरानको आणविक कार्यक्रमसमेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा रहेको वार्तासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ।

ट्रम्पले यसअघि भएको समझदारीमा फर्किन पनि अस्वीकार गर्दै आएका छन्।

यसैबीच, संयुक्त राष्ट्रसंघको महासभाका क्रममा कतारको मध्यस्थतामा अमेरिकी र इरानी प्रतिनिधिबीच वार्ता भएको थियो।

दुवै पक्षले उक्त वार्तालाई सकारात्मक र रचनात्मक भनेका थिए।

तर इरानी पक्षले अमेरिकाले कुनै सम्झौता कार्यान्वयन गर्ने विषयमा आफूहरू विश्वस्त नरहेको स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ।

ट्रम्पले मंगलबार संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै इरानले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनसम्म सम्झौता नगर्ने प्रयास गरिरहेको आरोप लगाएका थिए।

उनले इरानले रिपब्लिकन पार्टीले संसदीय निर्वाचन हार्ने आशा राखेको दाबी गर्दै अमेरिकी सर्त स्वीकार नगरे इरानलाई ध्वस्त पार्ने चेतावनीसमेत दिएका थिए।

अराघ्चीले भने इरान सम्झौता गर्न हतारमा नरहेको बताएका छन्।

‘मध्यावधि निर्वाचनअघि नै यो सम्पन्न भए राम्रो हुन्छ भन्ने लाग्छ। तर यो अमेरिकी सरकारमा निर्भर गर्छ। हामीलाई समयको कुनै हतार छैन,’ उनले भनेका थिए।