
नेपालअखबार, काठमाडौँ । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले किसानलाई मौसममा सुधार नआएसम्म धान नकाट्न आग्रह गरेको छ।
हतारमा धान काट्दा बाली र जनधनको ठुलो क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्र त्यसको योजना बनाउन विभागले सर्वसाधारणलाई सूचित गरेको हो।
विभागका मौसमविद् रोजन लामिछानेले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै विशेष गरी जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने बताए। उनले त्यस्ता स्थानका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन अनुरोध गरे।
मौसमको अवस्थाबारे जानकारी दिँदै मौसमविद् लामिछानेले भने, ‘अहिले किसान र सर्वसाधारणले धान नकाट्नुहोला। नेपालको पूर्वी भूभागमा क्रमिक रूपमा सुधार हुँदै गएको छ भने पश्चिमी भूभागमा लगातार ३-४ दिनदेखि पानी परिरहेकाले भोलि दिउँसोसम्म थप वर्षा हुने सम्भावना छ। त्यो क्षेत्र बढी जोखिममा हुने भएकाले सबैले पूर्वसावधानी र सतर्कता अपनाउनुपर्छ।’
यस्तै, नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जलसतह बढ्दा थप सजग रहन विभागले भनिएको छ। स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न आग्रह गर्दै विभागले विपद्का बेला सूचनाको पहुँच महत्त्वपूर्ण हुने जनाएको छ।
सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो अपडेट नियमित रूपमा हेर्न र कुनै पनि जिज्ञासा वा सूचनाका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न भनिएको छ।




