
नेपालअखबार,काठमाडौँ । बाढीपहिरोका कारण अवरुद्ध बेनी–मालढुंगा–कोरला सडकखण्डमा यातायात सञ्चालनका लागि सडक विभागले मर्मत तथा पुनःनिर्माणको काम तीव्र बनाएको छ ।
सडक विभागका अनुसार घासा–कोरला सडकखण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । मुस्ताङ–बेनी सडकखण्डका विभिन्न स्थानमा काटिएको सडकको ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माण गरी भोलि बेलुकीसम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको विभागले जनाएको छ ।
तातोपानी क्षेत्रमा काटिएको सडकको ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माणको काम पूरा गरी आज बेलुकीसम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै पोखरेबजार पुलको एप्रोच निर्माण भोलि बेलुकीसम्म सम्पन्न गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रघुघाट जलविद्युत् आयोजनाको क्षेत्रमा काटिएको सडकमा पनि ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माण गरी भोलि बेलुकीसम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको छ ।
यसैगरी मालढुंगा–बेनी सडकखण्डको केराबारीमा रहेको पहिरो क्षेत्रमा पनि ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माण गरी यातायात सञ्चालन गर्ने काम भइरहेको सडक विभागले जनाएको छ ।




