
नेपालअखबार,काठमाडौँ । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ । यस वर्षको दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् अक्टोबर ९ मा मनाइँदै छ । सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ ।
दिवसका अवसरमा देशभरका विभिन्न विद्यालयमा अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्त्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको छ । गत सातादेखि भेटेरिनरी चिकित्सक र स्वास्थ्यकर्मीहरूले अण्डाको महत्त्वका बारेमा विद्यार्थी र शिक्षकहरूलाई जानकारी गराइरहेका छन्
सङ्घको मुख्य आयोजना, अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम गरिँदैछ । असोज २३ गते बिहान ७:०० बजे उद्योग सङ्घ चितवनको परिसरबाट ‘एग वाक’ सुरु भई नारायणगढको सहिद चोकमा पुगेर समापन हुनेछ । एग वाकमार्फत अण्डाको पोषण, स्वास्थ्यमा यसको सकारात्मक प्रभाव र दैनिक आहारमा यसको महत्त्वबारे जनचेतना फैलाइनेछ ।
सोही दिन सरोकारवालाको सहभागितामा प्यानल डिस्कसन पनि आयोजना गरिनेछ । उक्त कार्यक्रममा अण्डा उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको भूमिकाबारे छलफल हुनेछ ।
फिजिसियन डा. भोजराज अधिकारीका अनुसार एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनसँगै भिटामिन ए, बी, बी १२, कोलिन र लिसिफिनजस्ता शरीरलाई आवश्यक पर्ने तत्त्व पाइन्छन् । यसैगरी भिटामिन डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिङ्कजस्ता पोषक तत्त्व पनि यसमा उपलब्ध हुन्छन् । अण्डामा पाइने प्रोटिनले शरीरका तन्तु तथा मांसपेशी निर्माण र मर्मतमा सहयोग गर्नुका साथै बालबालिकाको वृद्धि–विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
अण्डामा पाइने कोलिनले मस्तिष्क तथा स्नायु प्रणालीको सामान्य कार्यमा सहयोग गर्छ । पहेँलो भागमा पाइने ल्युटिन तथा जेक्स्यान्थिनले आँखाको स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउँछ । एक जना व्यक्तिलाई एउटा अण्डाको पहेँलो भाग खाँदा उसको शरीरलाई चाहिने कोलस्ट्रोलको एक भाग प्राप्त हुने भएकाले यो खानु आवश्यक मानिन्छ ।
यसअघि पहेँलो भाग खान हुन्न भन्ने विज्ञहरूको भनाइ रहने गरेको भए पनि अहिले अण्डालाई सन्तुलित तथा विविधतायुक्त आहारको महत्त्वपूर्ण हिस्साका रूपमा लिने गरिएको छ ।
नेपालका कुखुरापालक किसानहरू विस्थापित हुने अवस्थामा पुगेपछि चार वर्षअघि स्थापना भएको नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको बजारीकरणमा काम गर्दै आएको छ । यसका कारण अहिले नेपालमा नयाँ किसानहरू पनि कुखुरापालन क्षेत्रमा आकर्षित भएका छन् र यो क्षेत्र व्यवसायीकरण हुने क्रममा रहेको छ । लामो समयदेखि लागत मूल्य नपाएर किसान विस्थापित भएकामा सङ्घकै पहलमा पछिल्ला दिनहरूमा किसानले लागत मूल्य पाउन थालेका छन् । उत्पादन बढाएसँगै खपत बढाउने उद्देश्यले यस्ता चेतनामूलक कार्यक्रमको नेतृत्व सङ्घले लिँदै आएको अध्यक्ष पोखरेलले जानकारी दिए ।




