
नेपालअखबार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता भएको छ । भेटमा दुवै पक्षले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा जोड दिएका थिए ।
मन्त्री खनालको सचिवालयका अनुसार मेलबर्नमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
भेटवार्ताका क्रममा अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दु:ख व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ र पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताइन् ।
उनले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरिन् । यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि घोषणा गरेको ११ मिलियन अस्ट्रेलियन डलरमा उक्त रकम थप हुनेछ । नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभका काममा केन्द्रित हुने जनाइएको छ ।
मन्त्री खनालले विपद्को समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गरे । संकटका समयमा प्राप्त सहयोगले दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाएको उनले बताए ।
जलवायु परिवर्तन र कोप–३१ मा सहकार्य
भेटमा जलवायु परिवर्तनका कारण नेपाल र प्रशान्त क्षेत्रका मुलुकले सामना गरिरहेको साझा जोखिमबारे पनि छलफल भएको थियो ।
खनालले अन्तर्राष्ट्रिय तहमा अस्ट्रेलियाको नेतृत्वदायी भूमिकाको उपयोग गर्दै आगामी कोप–३१ मा हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असमान र गम्भीर प्रभावलाई विश्वसामु थप प्रभावकारी रूपमा उठाउन आग्रह गरे ।
उनले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण, विपद् तयारी तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा नेपाल–अस्ट्रेलिया सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।
नेपालमा अस्ट्रेलियाली विश्वविद्यालयका क्याम्पस खोल्नेबारे छलफल
भेटमा शैक्षिक सहकार्य विस्तारका विषयमा पनि छलफल भएको थियो ।
नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (टीभीईटी) संस्था स्थापना गर्ने तथा अस्ट्रेलियाका विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा स्थापना गर्ने विषयमा पहल अघि बढाउने सम्भावनाबारे दुवै पक्षले छलफल गरेका थिए ।
खनालले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज तथा अर्थतन्त्रमा नेपाली विद्यार्थी र नेपाली डायस्पोराले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनका क्रममा योग्य नेपाली विद्यार्थीका लागि अनुकूल र न्यायोचित व्यवस्था गर्न आग्रह गरे ।
व्यापार, लगानीदेखि सिधा हवाई सम्पर्कसम्म
भेटमा नेपाल–अस्ट्रेलिया आर्थिक साझेदारी विस्तारलाई पनि प्राथमिकतामा राखिएको थियो । व्यापार तथा प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन प्रवर्द्धन र श्रम गतिशीलतालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल भएको थियो ।
यसैगरी नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि कुराकानी भएको थियो । प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
वङले नेपालसँगको साझेदारीलाई आगामी दिनमा थप सुदृढ गर्न अस्ट्रेलिया प्रतिबद्ध रहेको बताइन् । प्राथमिकताका क्षेत्रमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।
दुवै पक्षले उच्चस्तरीय नियमित आदानप्रदानलाई निरन्तरता दिने तथा भेटवार्तामा भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न निकट सहकार्य गर्ने सहमति जनाएका छन् । साथै दुई देशका जनताको पारस्परिक हितमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ र बहुआयामिक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।




