Saturday, April 18

अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ नेता नेपाल

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवस आज मनाइँदै छ । वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते भारतमा भएको थियो ।
पुष्पलालले २००६ साल भदौ ३० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । उनको स्मृति दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई थप एकताबद्ध बनाउनु नै पुष्पलालप्रति सच्चा सम्मान हुने बताएका छन् ।नेकपाका वरिष्ठ नेता  एवम्  पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली जनताको मुक्तिका लागि आजीवन समर्पित, सामन्तवाद तथा निरंकुशताका विरुद्धको संयुक्त जनआन्दोलनका प्रणेता कमरेड पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा उहाँलाई सम्मानपूर्वक स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Advertisement

कमरेड पुष्पलालको नेतृत्वमा पाँच जनाले २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी आज नेपाली जनताको आशा, भरोषा र विश्वासको केन्द्रका रुपमा स्थापित भएको छ । कम्युनिस्ट पार्टीको अगुवाइ र पहलकदमीमा यस बीचमा युगान्तकारी परिवर्तनहरु भएका बताए । निरंकुश तथा सामन्ती राजतन्त्रको अन्त्य, केन्द्रीकृत राज्यसत्ताको ठाउँमा संघीय प्रणाली समावेशी लोकतन्त्र जस्ता विषयहरुले मुलुक सबैको साझा हो र कसैको विशेषाधिकार छैन भन्ने कुरा व्यवहारमा स्थापित गर्न हामी सफल भएका छौँ । कमरेड पुष्पलालले स्थापना गरेका पदचिन्हहरुमा दृढतापूर्वक हिँड्न सकेकै कारण हामीले नेपालमा ऐतिहासिक परिवर्तनहरु गर्न सकेका छौँ ।

कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै कमरेड पुष्पलालले स्थापित गरेका मानकहरु हाम्रा लागि सधैँ मार्गदर्शनका रुपमा  रहेका छन् । कम्युनिस्ट पार्टी र नेता–कार्यकर्ताहरुले जतिसुकै कठिन परिस्थितिमा पनि विचलित हुनहुँदैन र जनतालाई गोलबन्द गर्नबाट पछि हट्नु हुन्न भन्ने उहाँको दृढतालाई सिर्जनशील रुपमा अलवम्बन गर्दै कम्युनिस्ट पार्टीहरुले विभिन्न कालखण्डमा काम गर्न सकेकै कारण आज हामीले यति विशाल पार्टी निर्माण भएकाे बताए  ।

दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर हामीले हाम्रा संस्थापक महासचिव कमरेड पुष्पलालको सपनालाई साकार मात्र पारेका छैनौँ, नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा एक कदम अघि बढाउन ठोस योगदान समेत दिएकाे बताए ।

संस्थापक महासचिव कमरेड पुष्पलाललाई स्मरण गरिरहेको यस घडीमा हामीले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक छ ।

कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई हामीले दृढतापूर्वक व्यवहारमा लागू गर्नु पर्ने बताए। अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेकाे बताए ।

आजपनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कतव्र्य हुन्छ ।

४२ औ स्मृति दिवसको यस सन्दर्भमा संस्थापक महासचिव कमरेड पुष्पलालका आदर्शहरुलाई दृढतापूर्वक पछ्याइरहने प्रतिबद्धता व्यक्त गर्दै उहाँको क्रान्तिकारी, सरल, बौद्धिक, संघर्षशील र निष्ठापूर्ण व्यक्तित्वबाट सबै अभिप्रेरित भइरहन सकौँ भन्ने कामना गरेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *