Thursday, October 15

नापजाँचको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नेपालअखबार,धनुषा । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।

Advertisement

नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो।

Advertisement
Advertisement

तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै पहिलो चरणमा २३३ जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

Advertisement

जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ । लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ ।

त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरूपण गर्नसमेत सहज हुनेछ।