Friday, October 16

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

नेपालअखबार,म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ ।

Advertisement

यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो ।

Advertisement
Advertisement

कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब रु एक करोड लगानी बाढीले बगाएर क्षति पुर्याएको अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

Advertisement

“तातोपानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले विगत नौ वर्षदेखि रु एक करोडभन्दा बढी लगानी गरेर तयार पारेको पूर्वाधार ध्वस्त बनाएको छ”, उनले भने, “कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहानसमेत पुरानो कुण्डबाट करिब ३० मिटर तल सरेको छ ।”

कालीगण्डकीको कटानबाट जोगाउन किनारमा निर्माण गरिएको पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल र शौचालयलगायत पूर्वाधार कालीगण्डकीको बाढीले बगाएको छ ।

गाउँपालिकाले पछिल्ला केही वर्ष यता प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै आन्तरिक आम्दानीसमेत गर्दै आएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ का लागि कुण्ड सञ्चालन गर्न चार लाख पाँच हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

स्थानीयवासी दयाराम जिसीका अनुसार गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जन स्थलका रूपमा विकास भएको थियो ।

‘रातोपानीको प्राकृतिक तातोपानी कुण्ड स्नानका लागि आउने पाहुना र पर्यटकका कारण चलायमान हुन थालेको स्थानीय बजार र होटल व्यवसायलाई पनि असर गरेको छ,’ उनले भने, “बाढीका कारण भौतिक संरचनामा क्षतिसँगै रोजगारी र आयआर्जनको अवसर पनि गुमेको छ ।’

बेनी-जोमसोम सडकको छेउमा रहेको यहाँ प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा सङ्कलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०/१० मिटर लम्बाइ र चौडाइ भएको पोखरी बनाइएको थियो ।

तातोपानी कुण्ड व्यवस्थित भएसँगै मुस्ताङ भ्रमण गरेर फर्किएकाहरुले थकान मेटाउन कुण्डमा स्नान गर्ने गर्दथे । कुण्डमा पर्यटक आगमनसँगै रातोपानी, पोखरेबगर र ठूलोबगरको व्यवसाय प्रवर्द्धनमा टेवा पुगेको थियो ।

यहाँ चोटपटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित बिरामी तातोपानीमा डुबुल्की मारेर स्नान गर्न आउने गर्दथे । कुण्ड स्वास्थ्य पर्यटन र उपचारका लागि निकै चर्चित थियो ।

पुनःयही स्थानमा तातोपानी कुण्ड पुनर्निमाण गर्न कठिन हुनेगरी बाढीले बगाएका कारण तातोपानीको मुहानबाट पानी लगेर अन्यत्र स्थानमा स्नानस्थल निर्माण गर्ने विकल्पकाबारेमा छलफल थालिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।