Saturday, October 17

मनसुनजन्य विपदबाट बेनीमा ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति

नेपालअखबार, काठमाडौँ । यस वर्षको मनसुनजन्य विपदबाट बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति भएको छ।

Advertisement

बाढीपहिरोबाट ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ।

Advertisement
Advertisement

२४२ वटा घर पुनर्निर्माण गर्नुपर्ने  भएको छ।

Advertisement

सबैभन्दा बढी क्षति भकिम्लीको चिनाखेत र छेपारेमा  भएको छ।

त्यहाँ दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। साथै, ३३ वटा गोठमा क्षति भएको छ।

बेनी बजार संरक्षणका लागि गणेशटोलस्थित कालीगण्डकी नदीको किनारमा निर्माण गरिएको पक्की पर्खाल असोज ११ गतेको बाढीले भत्काएको छ। क्षतिग्रस्त सडक मर्मतका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको ७५ लाख बजेट अपुग भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा निर्णय गराएर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थप एक करोड बजेट माग गरिएको छ।

बेनी नगरकी उपप्रमुख ज्योति लामिछानेले क्षतिग्रस्त सडकहरुलाई पुरानै अवस्थामा फर्काउन २५ देखि ३० करोड लाग्ने अनुमान गरिएको बताए।

चार वर्षको अन्तरालमा १३ करोड खर्चेर निर्माण गरिएका खानेपानी योजनामा मध्ये ९ करोड खर्च भएका योजनामा क्षति भएको छ।

भत्केका संरचना पुनर्निर्माण गर्न पाँच करोड लाग्ने अनुमान छ।

सदरमुकाम बेनीमा खानेपानी आपूर्ति गर्ने पाइपलाइन पुनर्निर्माणका लागि रु १४ करोड अनुमान प्राविधिकहरूले बताएका छन्।

सदरमुकामबाहेकका बस्तीहरुका खानेपानीका पाइप मर्मतसम्भारका लागि तत्काल एक करोड मूल्य बराबरको पाइप उपलब्ध गराउन प्रदेश सरकारको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा माग गरिएको जानकारी उपप्रमुख लामिछानेले दिए।

दुई वटा विद्यालय भवन, दुई वटा शौचालय, एउटा बालविकास केन्द्र र एक वटा स्वास्थ्यचौकीको भवनमा क्षति भएको छ।

सिङ्गामा लिफ्ट खानेपानी र सिँचाइ तथा रत्नेचौरमा लिफ्ट खानेपानी योजनामा क्षति भएको छ।

पर्यटकीयस्थल सिङ्गा तातोपानी कुण्डमा बाढी र  पहिरोले रु दुई करोडभन्दा बढीको क्षति भएको छ ।