Monday, October 19

सास फेर्दा हावामा छाडेको डिएनएले पनि चोर समात्न सकिने!

नेपालअखबार, काठमाडौं । चोरी गरेर भागेपछि घटनास्थलमा कुनै प्रमाण नछाडेको ठानेर अपराधी ढुक्क हुन सक्छन्। तर उनीहरूले हावामा समेत आफ्नो पहिचान खुल्ने जैविक प्रमाण छाडिरहेका हुन सक्छन्।

Advertisement

हावामा तैरिरहेका डिएनएका सुक्ष्म अंश विश्लेषण गरेर चोरीको घटनामा संलग्न व्यक्तिको पहिचान गर्न सकिने सम्भावना एक अध्ययनले देखाएको दी इकोनोमिस्टले जनाएको छ।

Advertisement
Advertisement

फरेन्सिक साइन्स इन्टरनेसनल: जेनेटिक्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित सो अध्ययन अनुसार, नक्कली चोरीको अभ्यासमा सहभागी व्यक्तिहरूलाई उनीहरू घटनास्थलबाट गएको ३० मिनेटपछि संकलन गरिएको हावाको नमूनाबाट समेत पहिचान गर्न सकिएको छ।

Advertisement

उसो त हावामा भेटिएको डिएनएले मात्रै कसैले अपराध गरेको प्रमाणित गर्दैन। तर घटनास्थलमा कुनै व्यक्तिको उपस्थिति पुष्टि गर्न र अनुसन्धानलाई नयाँ दिशा दिन यसले सहयोग पुर्‍याउन सक्छ।

हावामा कसरी पुग्छ मानिसको डिएनए?

मानिस जहाँ जान्छ, त्यहाँ आफ्नो शरीरका सुक्ष्म जैविक अंश छाडिरहेको हुन्छ। छालाका कोष, चायाँ तथा र्‍यालका साना कण हावामा फैलिन सक्छन्। यस्ता कणमा रहेको डिएनए केही समयसम्म वातावरणमा रहन सक्छ।

मानिस कुनै कोठाबाट बाहिरिएपछि पनि उसले छाडेका जैविक कण हावामा वा धूलोमा बाँकी रहन सक्छन्। यही तथ्यलाई आधार बनाएर अनुसन्धानकर्ताहरूले अपराध अनुसन्धानमा हावाबाट डिएनए संकलन गर्ने प्रविधिको सम्भाव्यता परीक्षण गरेका हुन्।

यसरी वातावरणमा रहेका जीवका आनुवंशिक अवशेषलाई ‘इनभाइरोंमेन्टल डिएनए’ अर्थात् वातावरणीय डिएनए (इडिएनए) भनिन्छ।

वातावरणमा रहेका जीवको उपस्थिति पत्ता लगाउन दुई दशकभन्दा लामो समयदेखि जीव र वातावरणको सम्बन्ध अध्ययन गर्ने विशेषज्ञ (इकोलोजिस्ट) हरूले यो प्रविधि प्रयोग गर्दै आएका छन्।

पानी, माटो र हावामा रहेका डिएनएका आधारमा प्रत्यक्ष रूपमा नदेखिएका जीवसमेत पत्ता लगाउन सकिन्छ।

अमेरिकाको फ्लोरिडास्थित एभरग्लेड्स क्षेत्रमा दुर्लभ बर्मी अजिंगरको उपस्थिति पत्ता लगाउन तथा स्कटल्यान्डको लोख नेस तालमा रहेका जीवको पहिचान गर्नसमेत वातावरणीय डिएनएको प्रयोग गरिएको छ।

नक्कली चोरलाई ३० मिनेटपछि पनि पहिचान

ओस्लो विश्वविद्यालय अस्पतालकी चियारा फान्टिनाटोको नेतृत्वमा गरिएको नयाँ अध्ययनमा नर्वे र अस्ट्रेलियाका अनुसन्धानकर्ता सहभागी थिए।

अनुसन्धानका लागि ओस्लो र अस्ट्रेलियाको एडिलेडका गरी २२ परिवारका घर छनोट गरियो। ती घरमा पहिले कहिल्यै नगएका व्यक्तिलाई नक्कली चोरको भूमिका दिइयो।

उनीहरूलाई वास्तविक चोरले जस्तै दराज र दराजभित्रका सामग्री चलाउन, कपाट खोल्न तथा घरमा सामान खोजेजस्तो व्यवहार गर्न लगाइयो। प्रत्येक व्यक्तिलाई घरभित्र १५ मिनेट बिताउन दिइयो।

त्यसपछि उनीहरू घरबाट निस्किए। अनुसन्धानकर्ताहरूले प्रहरी घटनास्थलमा पुग्न लाग्ने सम्भावित समयलाई ध्यानमा राख्दै ३० मिनेट पर्खिए।

त्यसपछि सुरक्षात्मक पोसाक लगाएका अनुसन्धानकर्ताहरूले घरको भान्सामा हावाबाट नमूना संकलन गर्ने उपकरण चलाए।

अध्ययनकी प्रमुख अनुसन्धानकर्ता फान्टिनाटोका अनुसार उक्त उपकरणले सामान्य भ्याकुम क्लिनरले जस्तै हावाबाट सुक्ष्म कण तानेर संकलन गर्थ्यो।

संकलित कणबाट डिएनए निकालेर विश्लेषण गरियो। हावामा रहेका डिएनएका केही अंश भुइँमा खस्दै धूलोमा मिसिने भएकाले अनुसन्धानकर्ताहरूले सतहमा जमेको धूलोसमेत संकलन गरे।

नतिजा उत्साहजनक देखियो। नर्वेको ओस्लोमा संकलन गरिएका नमूनामध्ये ८२ प्रतिशतमा नक्कली चोरको डिएनएसँग मेल खाने नतिजा प्राप्त भयो। तर अस्ट्रेलियाको एडिलेडमा भने यस्तो सफलता दर ३६ प्रतिशत मात्रै रह्यो।

दुई स्थानमा नतिजा किन यति फरक आयो भन्ने अझै स्पष्ट भइसकेको छैन। घरभित्रको वातावरण, त्यहाँ बस्ने मानिसको संख्या तथा कोठा कति सफा गरिएको थियो भन्ने जस्ता कारणले प्रभाव पारेको हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ।

चोरकै डिएनए हो भन्ने कसरी थाहा हुन्छ?

हावामा भेटिएको डिएनए घटनास्थलमा हालसालै प्रवेश गरेको व्यक्तिकै हो भन्ने निश्चित गर्न भने चुनौती छन्।

कोठामा मानिस हिँडडुल गर्दा पहिले नै धूलोमा जमेर बसेका डिएनएका कण फेरि हावामा फैलिन सक्छन्। त्यस्तै, कुनै व्यक्तिले लगाएको कपडामार्फत उसले कहिल्यै प्रवेश नगरेको स्थानमा पनि अरू कसैको डिएनए पुग्न सक्छ।

अध्ययन क्रममा अनुसन्धानकर्ताहरूले आफ्नै डिएनए नमूनामा नमिसियोस् भनेर विशेष सावधानी अपनाएका थिए। तैपनि उनीहरूले प्रयोग गरेका उपकरणमा केही अनुसन्धानकर्ताकै डिएनए संकलन भयो र विश्लेषणमा पहिचानसमेत भयो।

यसले प्रविधि कति संवेदनशील हुन सक्छ भन्ने देखाए पनि घटनास्थलमा भेटिएको प्रत्येक डिएनए अपराधसँग सम्बन्धित हुन्छ भन्ने मान्न नसकिने स्पष्ट पार्छ।

अनुसन्धानकर्ताहरूका अनुसार हावाबाट संकलित डिएनएलाई मात्रै आधार बनाएर कसैलाई अपराधी ठहर गर्न सकिने अवस्था अझै आएको छैन।

फान्टिनाटोका अनुसार यो प्रविधि मुख्यतः अनुसन्धानलाई सहयोग गर्ने उपकरणका रूपमा उपयोगी हुन सक्छ। डिएनएबाट प्राप्त सूचनालाई पनि अन्य प्रमाणसँग जोडेर हेर्नुपर्ने हुन्छ।

वास्तविक घटनामा प्रयोग गर्नुअघि मानिस अनुसार डिएनए उत्सर्जनको मात्रा किन फरक हुन्छ, वातावरणले नमूनालाई कसरी प्रभावित गर्छ र विभिन्न प्रयोगशालामा परीक्षणका विधिमा कसरी एकरूपता ल्याउन सकिन्छ भन्ने विषयमा थप अध्ययन आवश्यक छ।

अनुसन्धान टोलीले यस प्रविधिको सम्भावित प्रयोगबारे प्रहरी निकायहरूसँग छलफलसमेत गरेको छ।

चोरी गर्ने व्यक्तिले घटनास्थलमा औंठाछाप, जुत्ताको छाप वा आफूले प्रयोग गरेका सामानमा डिएनए नछाड्न सावधानी अपनाउन सक्छ। तर आफूले सास फेरेको हावा र वातावरणमा छाडेका सूक्ष्म जैविक कण नियन्त्रण गर्न त्यति सजिलो नहुन सक्छ।

तर पनि हावामा डिएनए भेटिनु र अपराध प्रमाणित हुनु फरक कुरा हुन्। भविष्यमा यो प्रविधि कति विश्वसनीय हुन्छ भन्ने कुरा थप अनुसन्धान र वास्तविक घटनामा गरिने परीक्षणले निर्धारण गर्नेछ।