
नेपालअखबार,भक्तपुर । प्रत्येक वर्ष विजयादशमीका दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ ।
नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीका दिन भव्य मेला लाग्ने गर्छ । भक्तपुरवासी धिमेबाजा बजाउँदै मध्यरातिदेखि नै घरघरबाट ब्रह्मायणीमा मेला भर्न पुगेका छन् ।
व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ तथा १८ वटा दीप (दियो) बालेर ब्रह्मायणी मन्दिर जाने र पूजा गर्ने प्रचलन छ । यहाँका बासिन्दाले शरीरमा बत्ती बालेर र शरीर नापेर ब्रह्मायणीसम्मको यात्रा पूरा गरेका छन् । यो परम्पराले मनोकाङ्क्षा पूरा हुने र धर्म प्राप्त हुने जनविश्वास छ ।
मन्दिरमा आज नवदुर्गा प्रकट हुने विश्वासका साथ दिनभरि नै भव्य मेला लाग्ने गर्छ । नेवार समुदायमा आज मोहिनी नखः मनाउँदै घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजा सामग्री लिएर मन्दिर जानैपर्ने परम्परा छ ।
ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुललगायत काभ्रे, ललितपुर र काठमाडौँबाट समेत भक्तजन आउने गर्छन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका र कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।
गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई मङ्गलबार साँझ नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताई, अबिर र तेल दलेर दौडाउँदै तथा लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो जात्रा सुरु भएको थियो ।




