
नेपालअखबार,काठमाडौं । वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै सुरक्षा जोखिमका कारण वेबसाइट तथा सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।
सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ । यस अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकको आधिकारिक सामाजिक सञ्जाल हेर्न पनि अनुरोध गरिएको छ ।
राष्ट्र बैंकले उक्त सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई अपिल गरेको छ ।
साथै, सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन पनि राष्ट्र बैंकले सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।




