
नेपालअखबार, काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले सेनाभित्र व्यापक शुद्धीकरण अभियान सञ्चालन गरेका जनरल झाङ शेङमिनलाई कम्युनिस्ट पार्टीको शक्तिशाली पोलिटब्युरोमा नियुक्त गरेका छन्।
चिनियाँ सेनाको सर्वोच्च निकाय केन्द्रीय सैन्य आयोग (सिएमसी) का उपाध्यक्ष समेत रहेका झाङलाई बिहीबार पोलिटब्युरो सदस्य बनाइएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
उनी उक्त निकायमा नियुक्त हुने एकमात्र सैन्य अधिकारी हुन्।
चीनको सत्तारूढ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको चारदिने पाँचौँ पूर्ण बैठक (पाँचौँ प्लेनम) सकिएपछि जारी विज्ञप्तिमा झाङको नियुक्तिबारे जानकारी दिइएको हो। यस वर्षको चीनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक बैठक मानिएको उक्त सम्मेलनमा पार्टी नेतृत्वले अनुशासन कडा बनाउने र भ्रष्टाचार विरुद्धको अभियानलाई थप तीव्र पार्ने प्रतिबद्धता जनाएको छ।
चीनले आगामी वर्षको दोस्रो अर्धवार्षिक अवधिमा पार्टीको महाधिवेशन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ। महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको महासचिव चयन गर्नेछ। विश्लेषकहरूले सीले चौथो कार्यकालका लागि पनि महासचिव बन्ने तयारी गरिरहेको अनुमान गरेका छन्।
सन् २०१२ मा सत्तामा आएदेखि सीले भ्रष्टाचार नियन्त्रणलाई आफ्नो शासनको प्रमुख अभियान बनाउँदै आएका छन्।
पाँचौँ प्लेनमबाट जारी विज्ञप्तिमा पार्टी अनुशासन र भ्रष्टाचार नियन्त्रण अभियानलाई निरन्तरता दिने उल्लेख छ।
‘भ्रष्टाचार गर्न डराउने, भ्रष्टाचार गर्न नसक्ने र भ्रष्टाचार गर्न नचाहने अवस्था सिर्जना गर्ने एकीकृत दृष्टिकोणलाई दृढतापूर्वक अघि बढाउँदै आचरण सुधार र अनुशासन कार्यान्वयन गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
यसैबीच चीनको सेनाभित्र सीले चलाएको शुद्धीकरण अभियानले उच्च तहसम्मै प्रभाव पारेको छ। कुनै समय सीपछि जनमुक्ति सेनामा सबैभन्दा शक्तिशाली मानिएका केन्द्रीय सैन्य आयोगका पूर्वउपाध्यक्ष झाङ युसियालाई पार्टी र सेनाबाट निष्कासन गरिएको छ।
उनीमाथि सीप्रति विश्वासघात रहेको र आफ्नै गुट तथा समूह निर्माण गरेको आरोप लगाइएको छ। गत महिना पोलिटब्युरोले उनको निष्कासनलाई औपचारिक अनुमोदन गरेको थियो।
यस कारबाहीपछि केन्द्रीय सैन्य आयोगमा सी र नवनियुक्त उपाध्यक्ष झाङ शेङमिन मात्रै बाँकी रहेका छन्। यसअघि दुई पूर्वरक्षा मन्त्रीलाई पनि मे महिनामा मृत्युदण्डको निलम्बित सजाय सुनाइएको थियो।
चीन मामिलाका विश्लेषक निल थोमसका अनुसार सन् १९९४ पछि पार्टी महाधिवेशन बाहेक अन्य समयमा पोलिटब्युरोमा नियुक्त हुने झाङ पहिलो व्यक्ति हुन्। अमेरिकास्थित एसिया सोसाइटीका वरिष्ठ अध्येता थोमसले सामाजिक सञ्जाल एक्समा यस्तो टिप्पणी गरेका छन्।
उनका अनुसार पाँचौँ प्लेनममा केन्द्रीय समितिका सदस्यहरूको उपस्थिति पनि असामान्य रूपमा कम थियो। सुरुमा २०५ पूर्ण सदस्य र १७१ वैकल्पिक सदस्य रहेको केन्द्रीय समितिका ७४ प्रतिशत मात्रै बैठकमा सहभागी भएका थिए।
यो संख्या माओ त्सेतुङको मृत्युपछि अर्थात् सन् १९७६ यताकै सबैभन्दा न्यून उपस्थिति भएको थोमसको विश्लेषण छ।
बैठकले सिन्जियाङका पूर्वपार्टी प्रमुख मा सिङरुई, पूर्वप्रविधि मन्त्री जिन झुआङलोङ र विदेश मन्त्री बन्न सक्ने सम्भावित उम्मेदवार मानिएका पूर्वकूटनीतिज्ञ लिउ जियानचाओलाई पार्टीबाट निष्कासन गरिएको पनि पुष्टि गरेको छ।
यसरी एकपछि अर्को उच्च अधिकारीमाथि कारबाही गर्दै सीले पार्टी र सेनामा आफ्नो पकड थप बलियो बनाइरहेका छन्।
आगामी वर्ष हुने पार्टी महाधिवेशनअघि भएको पछिल्लो नियुक्ति र शुद्धीकरणलाई सीको चौथो कार्यकालको तयारीसँग जोडेर हेरिएको छ।
यसक्रममा लाखौँ सरकारी अधिकारीमाथि कारबाही भइसकेको छ। पार्टी, सरकारी निकाय र सेनामाथि आफ्नो नियन्त्रण थप बलियो बनाउने सीको रणनीतिका रूपमा यसलाई हेरिएको छ।
पछिल्लो समय भने सेनाभित्रको भ्रष्टाचार र राजनीतिक नेतृत्वप्रति अधिकारीहरूको व्यवहारबाट सी थप असन्तुष्ट रहेको चीन मामिलाका जानकारहरूको भनाइ छ।




