
नेपालअखबार,पोखरा । सडकमा दिनरात खटिएर नागरिकको सुरक्षा र ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ट्राफिक प्रहरी कर्मचारीको स्वास्थ्य, मानसिक सुस्वास्थ्य तथा आपत्कालीन अवस्थामा प्रभावकारी सेवा प्रवाह गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. पोखराले विशेष स्वास्थ्य सचेतना तथा तालिम कार्यक्रम आयोजना गर्यो । ’सडकमा सुरक्षा, स्वास्थ्यमा सचेतना’ भन्ने नाराका साथ प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई लक्षित गरी शुक्रबार बिहान जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्राथमिक उपचारसम्बन्धी तालिम, तनाव व्यवस्थापनसम्बन्धी सचेतना, स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार सामग्री वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले ट्राफिक प्रहरी कर्मचारीले सडकमा खटिँदा विभिन्न चुनौती, जोखिम र मानसिक तनावको सामना गर्नुपर्ने बताउनुभयो । नागरिकको सुरक्षाका लागि कठिन परिस्थितिमा समेत जिम्मेवारी निर्वाह गर्ने प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई उत्तिकै प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले यस्ता स्वास्थ्य सचेतना, तनाव व्यवस्थापन र क्षमता अभिवृद्धिका कार्यक्रमले प्रहरी कर्मचारीलाई थप ऊर्जाशील र जिम्मेवारीप्रति प्रेरित बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मेडिप्लस हस्पिटलका फिजिसियन तथा मेडिकल डाइरेक्टर डा. सरोज पोखरेलले प्राथमिक उपचारको महत्व, दुर्घटनापछि अपनाउनुपर्ने सावधानी तथा आपत्कालीन अवस्थामा घाइतेको जीवन रक्षा गर्न सकिने उपायबारे सहजीकरण गर्नुभयो । उहाँले दुर्घटनामा घाइते भएका व्यक्तिलाई समयमै उचित प्राथमिक उपचार उपलब्ध गराउन सके ज्यान जोगाउन महत्वपूर्ण सहयोग पुग्ने बताउँदै ट्राफिक प्रहरी कर्मचारीका लागि प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो ।
तालिमका क्रममा दुर्घटनामा परी सास बन्द भएको वा मुटुको धड्कन बन्द भएको अवस्थामा गरिने कार्डियोपल्मोनरी रिससिटेसन अर्थात् छाती थिच्ने तथा कृत्रिम श्वासप्रश्वास दिने विधिबारे जानकारी गराइएको थियो । सहभागीहरूलाई छातीको बीच भागमा निश्चित गति र तरिकाले थिच्ने, कृत्रिम श्वासप्रश्वास दिने तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे व्यावहारिक रूपमा प्रदर्शनसमेत गरिएको थियो। यसले सहभागी प्रहरी कर्मचारीलाई दुर्घटनास्थलमा तत्काल उद्धार तथा प्राथमिक उपचारमा खटिँदा उपयोगी ज्ञान र सीप प्रदान गरेको थियो ।
त्यसैगरी कार्यक्रममा मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन तथा व्यक्तिगत स्वास्थ्यसँग सम्बन्धित विषयमा अच्युत आचार्यसहित विषय विशेषज्ञ चिकित्सकहरूले प्रशिक्षण तथा परामर्श दिनुभएको थियो । लामो समयसम्म कार्यक्षेत्रमा खटिनुपर्ने, दुर्घटना तथा अन्य संवेदनशील घटनाको प्रत्यक्ष सामना गर्नुपर्ने ट्राफिक प्रहरी कर्मचारीले आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नुका साथै तनाव व्यवस्थापनका उपाय अपनाउनुपर्ने विषयमा समेत जानकारी गराइएको थियो । त्यस्तै, मेडिप्लस हस्पिटलका अध्यक्ष डा. आनन्द भट्टराईले विभिन्न संघसंस्था तथा समुदायसँगको साझेदारीमा स्वास्थ्य सचेतना र सेवामूलक कार्यक्रमलाई निरन्तर अगाडि बढाउने अस्पतालको योजना रहेको बताउनुभयो । सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै समुदायको आवश्यकता र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रम आयोजना गरिँदै आएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा. आनन्द भट्टराईले कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलाई प्राथमिक उपचार तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । साथै सहभागी ट्राफिक प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । कार्यक्रममा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.का प्रमुख सञ्चालन अधिकृत प्रकाश विकले अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्था तथा समुदायसँग सहकार्य गरी स्वास्थ्य सचेतना, तालिम तथा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो। स्वास्थ्य सेवा अस्पतालको परिसरमा मात्र सीमित नराखी नागरिकको घरआँगनसम्म पु¥याउने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो । उहाँले ट्राफिक प्रहरीसँग स्वास्थ्य सचेतना, प्राथमिक उपचार, ट्राफिक व्यवस्थापनलगायत विभिन्न विषयमा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले सडक दुर्घटनाका घाइतेलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउने क्षमता विकास गर्नुका साथै प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । स्वास्थ्य सेवा, जनचेतना र सामाजिक उत्तरदायित्वलाई एकसाथ जोड्दै मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले प्रहरी–समुदाय साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।




