Saturday, November 7

पार्टीभित्र अवसरवादी राजनीति र अहङ्कार त्याग्न रास्वपा सभापति लामिछानेको निर्देशन

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्कँदै गएको अहङ्कार, अवसरवादी चरित्र र आन्तरिक ईर्ष्याप्रति कडा असन्तुष्टि जनाउँदै त्यसलाई तत्काल सच्याउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

Advertisement

शुक्रबार चितवनमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले दिएको मतलाई अहङ्कारमा बदल्न नहुने चेतावनी दिए।

Advertisement
Advertisement

सभापति लामिछानेले पार्टीले हासिल गरेको सफलतापछि केही नेता–कार्यकर्ताहरूमा अहङ्कार देखिएको उल्लेख गर्दै भने, ‘जनताले मत दिएर पठाएका हुन्, हामी भुइँमा खुट्टा नअडिने गरी मात्तिएका छौँ, चुप्पिएका छौँ। माथिदेखि तलसम्म हामी यति चढेका छौँ कि मान्छेलाई मान्छे गन्न छाडेका छौँ।’

Advertisement

उनले शक्तिको आडमा प्रशासन वा प्रहरीलाई दबाब दिने राजनीति रास्वपाको नभएको भन्दै नेताहरूलाई सधैँ भुइँमै टेक्न र जनताको सेवक बन्न आग्रह गरे। पार्टीभित्र तल्लो तह (वडा तह) मा चुनाव लड्न कसैको रुचि नदेखिने तर माथिल्लो पदमा मात्र आँखा लगाउने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै लामिछानेले भने, ‘हाम्रा साथीहरू वडाध्यक्ष हुनै चाहँदैनन्, एकैचोटि मेयर र सांसद हुन खोज्छन्। यसले हामी अवसरको राजनीतिमा गइरहेका छौँ भन्ने प्रस्ट देखाउँछ।’

यस्तो अवसरवादी सोच त्यागेर सङ्गठनको जग बलियो बनाउन उनले आग्रह गरे। आगामी स्थानीय तहको उपनिर्वाचन तथा अन्य निर्वाचनका सन्दर्भमा बोल्दै सभापति लामिछानेले पार्टीमा टिकट वितरण कुनै नेताको निकटता, भनसुन वा होटलमा राखेर खुवाएको भरमा नहुने स्पष्ट पारे। उनले पार्टीले तय गरेको विधि र प्राइमरी (आन्तरिक) निर्वाचन प्रणालीबाटै उम्मेदवार चयन हुने बताए।

‘एउटै पदमा २० जना आकाङ्क्षी हुँदा पाउने एकै जनाले हो। आफूले पाइनँ भन्दैमा पार्टीलाई धोका दिने वा विपक्षीसँग साँठगाँठ गर्ने छुट कसैलाई छैन’, उनले भने, ‘टिकट नपाए एक–दुई दिन रोएर चित्त बुझाउन सकिन्छ तर तेस्रो दिनदेखि आफ्नै साथीलाई जिताउन ‘जिन्दावाद’ भन्दै भोट माग्न हिँड्नुपर्छ। राजनीतिक निष्ठा यही हो।’

चितवनबाटै सुरु भएको यो राजनीतिक क्रान्तिलाई यहाँसम्म पुर्‍याउन जनताले ठूलो विश्वास गरेको स्मरण गर्दै उनले त्यो अभिमतको अपमान नगर्न आग्रह गरे। उनले पार्टीभित्रको एकता, अनुशासन र पारदर्शिता नै रास्वपाको मुख्य शक्ति भएको बताउँदै सबैलाई जिम्मेवार र अनुशासित भएर अघि बढ्न निर्देशन दिए।