Wednesday, November 11

सिरहामा प्रतिबन्धित औषधिसहित भारतीय नागरिक पक्राउ

नेपालअखबार,जनकपुरधाम । भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका एक भारतीय नागरिक सिरहामा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुबनी जिल्ला झझरी गाउँका करिब ३५ वर्षीय मनोज कुमार साह रहेका छन् ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार भगवानपुर गाउँपालिका–४ स्थित बलान खोला नजिकको गोरेटो बाटोमा प्रहरी चौकी ठाडीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ एडी ४५४९ नम्बरको मोटरसाइकल शंकास्पद लागेपछि प्रहरीले जाँच गरेको थियो । सो क्रममा मोटरसाइकलको लेगार्डमा झुन्ड्याइएको झोलाभित्र प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार झोलाबाट बेनाड्रिल सिरपका ३० बोतल र डेक्सोरेन्ज सिरपका २९ बोतल गरी जम्मा ५९ बोतल बरामद गरिएको छ ।

बरामद औषधि, मोटरसाइकल र पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा ल्याइएको प्रहरीले जनाएको छ ।