Monday, April 20

कोरोनाका कारण स्थगित हाइकिङ पुनःसञ्चालन

नेपाल अखबार, कास्की । हाइकिङका माध्यमबाट पोखरा आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ पोखरेली युवाको सक्रियतामा गत वर्षदेखि सञ्चालित हाइकिङ पुनः सञ्चालनमा आएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने मूल नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आइएको हाइकिङ झण्डै चार महिनासम्म स्थगन भएको थियो ।
बन्दाबन्दी खुलेको अवस्थामा सामाजिक दूरी एवं मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्दै स्थगन हाइकिङ पुनःसञ्चालनमा ल्याइएको हाइकर्स क्लब नेपालका उपाध्यक्ष तथा हाइकिङ व्यवस्थापन संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।
पुनःसञ्चालित हाइकिङको शृङ्खलाअन्तर्गत साउन महिनामा भने दोस्रो शनिबार हिजो पोेखरा महानगरपालिका– १६ स्थित पर्यटकीयस्थल महेन्द्र गुफादेखि घार्मी गाउँ, ढिकीडाँडा हुँदै हरिपाउसम्म हाइकिङ गरिएको रानाभाटले बताए । हाइकिङका सहभागीलाई हरिपाउमा स्वागत गर्दै घरवास सञ्चालक एकनाथ आचार्यले यहाँबाट देखिने पोखरा बजारसहितका रमणीय दृश्यले पर्यटकलाई लोभ्याउने गरेको बताए ।यहाँबाट पोखरा बजार नेपालको राष्ट्रिय झण्डाको आकारमा देखिने बताउँदै उनले एक हजार ४९० मिटरको उचाइ रहेको यो ठाउँसँगै यहाँका मैदान पोखरी, कालिका देउराली मन्दिरलगायतका प्राकृतिक एवं सांस्कृतिकस्थललाई पर्यटनसँग जोड्न लागिएको उल्लेख गरे । यहाँबाट देखिने माछापुच्छ्रे«, अन्नपूर्णलगायतका हिमाली दृश्यसहितका प्रकृतिसहित विद्यमान संस्कृतिलाई पर्यटन बजारमा लैजानुपर्ने आवश्यकता उनले औंल्याए ।
रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *