Tuesday, April 21

सोलुखुम्बुमा हिमताल फुट्यो, सोलु खोलामा ठूलो बाढी

नेपाल अखबार,सोलुखुम्बु । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका १ र २ को सिमानामा रहेको चोकर्मा ताल (सेतो पोखरी) फुटेको छ।
चोकर्मा हिमताल फुट्दा सोलु खोलामा शुक्रबारदेखि पानीको बहाब बढेको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नामगेल जाङ्बु शेर्पाले जानकारी दिए।
‘शुक्रबार बिहान सोलु खोलामा आकस्मिक रुपमा लेदोसहितको बाढी आयाे, एउटा चौरी गोठ पनि बाढीले बगायो। स्थानीयले दूधकुण्ड फुटेकाले बाढी आएको आशंका गरेका थिए,’ आइतबार बिहान मेयर शेर्पाले नेपालखबरसँग भने, ‘तर पछि स्थानीय दावा शेर्पासहित ५\६ जना स्थानीयबासीको समूहले स्थलगत अध्ययन गर्दा दूधकुण्ड नभएर चोकर्मा ताल फुटेको पाइयो।’
117204810 708760023304132 4786295471830666707 n
उनले तालको एक छेउ मात्र फुटेको कारण सबै पानी बग्न नपाउँदा क्षति कम भएको बताए। ‘चोकर्मा तालमा पानी धेरै छ। दूधकुण्ड भन्दा पनि यो ताल ठूलो छ,’ उनले भने।
पाँच हजार पाँच सय मिटरको उचाइमा रहेको चोकर्मा तालको सबै पानी बाहिरिए सोलु खोलामा ठूलो बाढी आउने र त्यसले धेरै जनधनको क्षति हुन सक्ने उनले बताए।
आज प्रदेश सांसद र मेयरसहितको टोली तालको अवलोकनमा जाने तयारी छ। ‘मौसमले साथ दिए हामी हेलिकप्टरमा तालको अवलोकन गर्न जाँदैछौँ,’ मेयर शेर्पाले भने, ‘अध्ययनपछि मात्र त्यहाँको वास्तविक अवस्था थाहा हुन्छ।’
उनले प्रदेश सांसद बुद्धिकुमार राज भण्डारी, वडाध्यक्ष छोङबा लामा, सुरक्षाकर्मीसहितको टोली तालको अवलोकनमा जान लागेको जानकारी दिए। चोकर्मा ताल सोलु सदरमुकामबाट झण्डै ६० किलोमिटर टाढा पर्छ।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले पनि फुटेको ताल क्षेत्रको स्थलगत अवलोकन गरिने बताइन्। ‘शुक्रबार सोलु खोलामा ठूलो बाढी आउँदा स्थानीय त्रसित बनेका थिए,’ सिडिओ सुवेदीले भनिन्, ‘तर आजदेखि खोलामा पानीको वहाब घटेको छ। अहिले खतरा छैन।’
117226104 2677871072481955 8438042261697875637 n
शुक्रबार बिहानैदेखि अचानक सोलु खोलामा पानीको सतह बढेपछि स्थानीय प्रशासनले खोला किनारमा रहेका बस्तीमा सावधानी अपनाउन अपिल गरेको थियो।
मेयर शेर्पाका अनुसार फुटेको ताल भएको क्षेत्रमा पुग्न पैदल करिब दुई दिन लाग्छ। त्यस क्षेत्रमा करिब एक दर्जन साना ठूला ताल छन्। साेत नेपालखबर

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *