नेपाल अखबार, पोखरा । पोखरा महानगरका थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । महानगरको वार्ड नं. ६ का २ जना र वार्ड नखुलेका २ जना गरी ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार वार्ड नं. ६ का २५ र ५० वर्षका २ महिला तथा वार्ड नखुलेका २३ र २८ वर्षका २ पुरुषमा मंगलबार बिहान कोरोना देखिएको हो ।
त्यसैगरी मंगलबार बिहान नै गण्डकी प्रदेशको बागलुङ बरेङ -२ का ६ वर्षीय बालक र २५ बर्षीया महिला तथा नवलपुर कावासोती-२ का १४ र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६४ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १ हजार ५ सय ५० पुगेको छ ।

