Monday, April 20

नियमित उडान खुलेसँगै हवाइ भाडा घट्ने

नेपाल अखबार, एजेन्सि। भदौ १७ देखि नियमित उडान हुने भएपछि भाडादरमा केही हेरफेर हुने भएको छ। एकतर्फी मात्रै यात्रु हुने भएकाले चार्टर्ड उडानको तुलनामा धेरै नघटे पनि केही हेरफेर हुनसक्ने कम्पनीहरुले जनाएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि नियमित दुई र एक चार्टर्ड उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ।
‘१७ गतेदेखि नियमित उडान भने पनि एकतर्फी मात्रै यात्रु हुन्छन्’, नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘अब एयरलाइन्सबीच प्रतिस्पर्धा भए पनि धेरै घट्ने सम्भावना छैन।’

उनले अहिले पनि एयरलाइन्सले धेरै भाडा नलिएको भन्दै आफ्नो खर्चअनुसार भाडा तय हुने बताइन्। दुईतर्फी यात्रु आवागमन हुनथाले स्वतः भाडा घट्दै जाने खड्काको भनाइ छ।

‘पहिलेजस्तो सामान्य अवस्थाकै भाडादर फर्किन त समय लाग्छ’, उनले भनिन्, ‘दुवैतर्फ यात्रु आउजाउ बढेपछि मात्रै पुरानो अवस्थामा फर्किन्छ।’
सरकारले उद्धार उडानको लागि गन्तव्यअनुसार अधिकतम भाडादर तोकेको छ। नियमित उडानमा भने एयरलाइन्सको प्रतिस्पर्धाले केही भाडादर घट्ने भएको हो।
सरकारले नियमित उडान नखोली विदेशमा अप्ठ्यारोमा परेका कामदारसँग चर्को भाडा असुल्न दिएको भन्दै चर्को आलोचना हुँदै आएको छ। उदाहरणको लागि सामान्य अवस्थामा २५ देखि ३० हजारसम्म आबुधावी जान पाउने हवाइ यात्रु अहिले उद्धारका लागि भएको चार्टर्ड उडानमा करिब ४६ हजार भाडा तिर्न बाध्य छन्।
यसको अलावा चार्टर्ड उडानमा पनि मनलागी भाडा लिएको भन्दै विरोध भएपछि मन्त्रालयले छानबिन नै गरेको थियो।
अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले पनि अहिलेको भाडादरमा केही कमी आउने बताएको छ।
‘अहिलेको तुलनामा नियमित उडानको भाडादर घट्दै जान्छ। एयरलाइन्सले त्यो विषयमा छलफल गर्दै छ, केही दिनमा नियमित उडानको भाडादर सार्वजनिक गर्छ’, एक अधिकारीले भने।
हिमालय एयरलाइन्सले अहिले दमाम साउदी अरेबियाको भाडा ४६५, क्वालालम्पुर मलेसियाको ३७२, आबुधावी युएई ३८५, दोहा कतारको भाडा ३९२ अमेरिकी डलरमा उद्धार चार्टर्ड उडान गर्दै आएको छ।
तर सरकारले दैनिक दुई उडान मात्रै गर्दा भाडा घट्ने सम्भावना कम रहेको कतिपयको आँकलन छ। सरकारले उडान तालिका पनि सार्वजनिक गरेको र कोटा पनि तोकेको हुँदा प्रतिस्पर्धा कम हुने उनीहरु बताउँछन्। नियमित दुईसहित एक चार्टर्ड उडानमार्फत दैनिक ५ सय बढी यात्रु ल्याउन नपाइने सरकारले व्यवस्था गरेको छ। साेत नेपालखबर

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *