समाचारसमाजस्वास्थ्य

कोरोना महामारी सुरु भएपछि नेपालमा मृत शिशुको जन्म ५० प्रतिशतले बढ्यो

नेपाल अखबार, काठमाडाैं। कोरोना भाइरसको महामारी  नेपालमा मृत शिशुको जन्म ५० प्रतिशतले बढेको छ।
बेलायतको प्रसिद्ध जर्नल लान्सेटमा प्रकाशित रिपोर्टले लकडाउन सुरु भएयता मृत शिशु जन्मिने संख्या ह्वात्तै बढेको देखाएको हो।
लकडाउन सुरु हुनुअघिसम्म प्रतिहजार शिशु जन्मिदा नेपालमा १४ मृत शिशु जन्मिने गरेका थिए। तर, लकडाउनयता यो संख्या बढेर प्रतिहजार २१ पुगेको अध्ययनले देखाएको छ।
स्विडेनको उप्पशाला विश्वविद्यालयका आशीष केसीको नेतृत्वमा गरेको अध्ययनले नेपालमा मृत शिशु जन्मिने संख्या ५० प्रतिशतले बढेको देखाएको हो। ती शिशुहरुको आमाको पाठेघरभित्रै मृत्यु हुने गरेको रिपोर्टले देखाएको छ।
केसीको समूहले नेपालका नौ वटा अस्पतालमा भर्ना भएका २० हजार सुत्केरीहरुमाथि अध्ययन गरेर त्यस्तो निष्कर्ष निकालेको हो। सो समूहले लकडाउन सुरु भएदेखि बैशाख अन्तिमसम्मको तथ्यांकलाई विश्लेषणको मुख्य आधार बनाएको थियो।

सो अध्ययनमा अस्पतालमा सुत्केरी गराउनेको संख्या पनि आधाले घटेको देखाएको छ। लकडाउनअघि एक सातामा औसत १२ सय ६१ सुत्केरी हुने गरेका अस्पतालमा लकडाउनपछि यो संख्या घटेर ६ सय ५१ मा पुगेको थियो। तर, अनुसन्धनकर्ताहरुले अस्पतालमा सुत्केरी नगराएका गर्भवतीको महिला र उनीहरुको शिशुको अवस्थाको बारे कुनै जानकारी नभएको बताएका छन्।
अस्पतालमा आउन नपाएर घरमै सुत्केरी गराउनेहरुमा मृत बच्चा जन्मिने संख्या अझै बढी हुनसक्ने बताइएको छ। केसीले कोरोना संक्रमणले त्यस्तो मृत्यु नभएको बताएका छन्। उनले लकडाउनले गर्दा आवागमन अवरुद्ध भएको कारण गर्भवती महिलाहरु स्वास्थ्य केन्द्रसम्म जान नपाएकाले त्यस्तो अवस्था उत्पन्न भएको बताएका छन्।
समयमै नियमित चेक गर्न जाने गर्भवतीहरु लकडाउनको कारण अवस्था गम्भीर हुँदा मात्रै स्वास्थ्यकर्मी र अस्पताल पुग्ने गरेको कारण मृत बच्चा जन्मने संख्या बढेको निष्कर्ष सो समूहले निकालेको छ।
‘पछिल्लो २० वर्षमा नेपालले आमा र शिशुको स्वास्थ्यमा महत्वपूर्ण प्रगति हासिल गरेको भए पनि पछिल्लो केही महिनामा त्यो निकै घटेको छ’, केसीले भनेका छन्।
‘द नेचर’मा प्रकाशित समाचारअनुसार नेपालमा मात्रै नभएर कोरोना महामारी सुरु भएयता विश्वभर नै मृत शिशु जन्मको संख्या बढेको बताएको छ। विभिन्न देशमा गरेको अध्ययनमा लकडाउनको कारण आवागमन र स्वास्थ्य सेवा प्रभावित हुँदा यस्तो समस्या देखिएको हो।
लन्डनको एउटा ठूलो अस्पतालमा पनि जुलाई महिनामा मृत शिशु जन्मिने संख्यामा चार गुणाले बढेको देखाएको छ। सेन्ट जर्ज अस्पतालमा अक्टोबरदेखि जनवरीसम्म एक हजार जन्ममध्ये २ प्रतिशत ३८ मृत जन्मिथे। फेब्रुअरीदेखि मध्य जुनसम्ममा एक हजार जन्ममा यो संख्या बढेर ९ दशमलव ३१ प्रतिशत पुगेको थियो। भारतको चार अस्पतालमा गरिएको अध्ययनमा पनि मृत शिशु जन्मिने संख्या बढेको देखाएको छ।

the authoradmin

Leave a Reply