Wednesday, April 22

कोरोना भाइरस परीक्षणः ९० मिनेटमा सङ्क्रमण भए नभएको छुट्याउने एउटा सामान्य विधि

नेपाल अखबार, एजेन्सि। कुनै विशेष प्रयोगशालामा नमुना नलगी एक किसिमको र्‍यापिड टेस्ट अर्थात् द्रुत परीक्षण विधिबाट ९० मिनेटमा कोरोनाभाइरस सङ्क्रमण भए नभएको छुट्याउन सकिने वैज्ञानिकहरूले बताएका छन्।

इम्पीरीअल कलेज लन्डनले गरेको एउटा अध्ययनमा “ल्याब अन अ चिप”ले अहिले प्रचलनमा भएको परीक्षणको जस्तै परिणाम दिएको देखियो।

Advertisement

उक्त उपकरण अहिले यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसद्वारा सञ्चालित आठवटा अस्पतालमा बिरामीहरूमा कोरोनाभाइरस छ कि छैन भनेर चाँडै छुट्याउन प्रयोग भइरहेको छ।

तर विज्ञहरूले यूकेको ‘टेस्ट एन्ड ट्रेस’ कार्यक्रममा विद्यमान चुनौतीलाई उक्त किटले समाधान नगर्ने औँल्याएका छन्।

के हो ‘ल्याब अन अ चिप’?

यो उपकरण डीएनए नज नामक कम्पनीले बनाएको हो। घाँटी वा नाकमा स्वाब हालेर नमुना सङ्कलन गर्न सक्ने जोसुकैले पनि यो उपकरण प्रयोग गर्न सक्छ।

परीक्षणका लागि आवश्यक रासायनिक पदार्थ भएको एउटा नीलो काट्रिजमा स्वाब हुन्छ। परीक्षणपछि विसर्जन गर्नुपर्ने काट्रिज एउटा जुत्ता राख्ने बाकसजत्रो यन्त्रमा राखिएको हुन्छ।

त्यसैले नमुनाको परीक्षण गर्छ।

उपकरण

लान्सिट माईक्रोब नामक वैज्ञानिक जर्नलमा यसबारे गरिएको शोध प्रकाशित भएको छ। उक्त अध्ययनमा ३८६ व्यक्तिबाट सङ्कलित नमुनाहरू डीएनए नज र प्रचलित विधिबाट परीक्षण गरिएको थियो।

“नतिजा उस्तै रह्यो। नयाँ प्रविधि ल्याउन खोज्दा यो धेरै उत्साहप्रद छ,” इम्पीरीअल कलेज लन्डनका प्राध्यापक ग्रेअम कुकले भने।

“धेरै परीक्षणमा गति र परिशुद्धिबीच सम्झौता हुन्छ। तर यो परीक्षणले दुवैलाई कायम गर्छ।”

प्रयोगशालामा गरिने परीक्षणले कोरोनाभाइरसमुक्त देखाएको बिरामीलाई यो द्रुत परीक्षणले पनि भाइरस नभएको देखायो। प्रयोगशालाले कोरोनाभाइरस भएको देखाएका ९४% परिणाममा यो विधिले उस्तै नतिजा देखायो।

के यसको कुनै दुर्गुण पनि छ?

यूकेले ५,००० वटा यस्ता नजबक्स उपकरण र ५८ लाख काट्रिज मगाइसकेको छ।

यो परीक्षणको एउटा ठूलो दुर्गुण पनि छ। यसले एक चोटिमा एउटा मात्र नमुना जाँच्न सक्छ।

अर्थात् एक दिनमा एउटा उपकरणले जम्मा १६ वटा मात्र नमुना जाँच्न सक्छ।

कोरोनाभाइरस

तर प्राध्यापक कुकका अनुसार तत्काल कुनै चिकित्सकीय निर्णय गर्नुपर्ने स्थानमा यो उपकरण उपयुक्त हुन्छ।

उनले गत हप्ता यो विधिबाट कोभिड-१९ भएको पत्ता लागेका एक बिरामीलाई तत्काल रेम्डिसिभिर र डेक्सामेथासोनजस्ता औषधि दिइएको थियो।

के भन्छन् विज्ञ?

यो परीक्षण विधि अस्पतालहरूमा भविष्यमा अझ उपयोग हुनसक्छ किनभने यसबाट कोरोनाभाइरस, रुघा र बालबालिकामा श्वासप्रश्वासम्बन्धी समस्या उत्पन्न गराउने सिन्सिशीअम भाइरसको परीक्षण एकैचोटि गर्न सकिन्छ।

तर यो उपकरणले धेरै नमुना एकैचोटि जाँच्न नसक्ने भएकाले एक दिनमा एक करोड व्यक्तिको परीक्षण गर्ने योजनामा यो उपयोग नबन्न सक्छ।

यो अध्ययनमा कुनै संलग्नता नभएका यूनिभर्सिटी अफ वोरिकका प्राध्यापक लरेन्स यङले यो विधिको प्रशंसा गरेका छन्।

“बिरामीको स्याहार र तत्काल निर्णय गर्नुपर्ने आवश्यकता भएको परिस्थितिमा कोभिडनज परीक्षणको भूमिका महत्त्वपूर्ण हुन्छ। जस्तै कि शल्यक्रियाका लागि अस्पतालमा बिरामी भर्ना गर्नुपर्ने बेलामा।”

तर विश्वभरि गर्नुपर्ने व्यापाक परीक्षणका लागि यो विकल्प नभएको उनी बताउँछन्। बिबिसि

Leave a Reply

Your email address will not be published. Required fields are marked *