समाचारसाहित्य \कलाहाइलाइट-समाचार

नेपालको सुन्दरता, विशिष्टता र मौलीकता

Nepal Akhabar

पुरुषोत्तम पौडेल, हेटौडा। नेपाल संसारमा सवभन्दा सुन्दर देश हो । मलाई यस्तो लाग्छ । यस्तो मलाई मात्र लागेको होईन । धेरै नेपालीहरूलाई यस्तै लागी रहेको छ । आफ्नो देश भएर मात्र नेपाल सुन्दर लागेको पनि होईन । संसार घुमेर हेर्दा समेत त्यस्तै अनुभव हुन्छ । वाकी संसार घुमेर आऊने साथीहरूले पनि त्यही महशुस गर्नु भएको छ । साचो अर्थमा नेपाल प्रकृतिले गरेको अनुपम रचना हो । मैले पनि अनुपम प्राकृतिक सुन्दरताले भरिएको देश नेपालमा जन्मने अवसर पाए । कञ्चनपुरको छेऊ देखी कञ्चनजङ्गा सम्म आरामले घुम्ने अवसर पाए । धन्य यो प्रकृतिलाई । धन्य छ विधीको विधानलाई ।
सुन्दर देश नेपालको एउटा साधारण गाऊले किसानको घरमा जन्मिएर मैले देश भरीको सुन्दरता हेर्न पाए । त्यती मात्र होईन संसारका केही चुनिएका सुन्दर देशहरू घुम्ने अवसर पनि पाए । अली किशोर अवस्थामा दैनिक किनमेल गर्न र वोर्डर संग जोडिएका गाउ तिर घुम्न जादा ईण्डिया जानु पर्दथ्यो । ईण्डीया तिरका साथीहरू संग कुरा हुदा ” नेपाल खुव सुन्दर देश है ” भन्ने गर्थे । नेपाल गुराशको फुल जस्तै सुन्दर छ । नेपालको हिमाल, पहाड, तराई सवै राम्रो छ भन्थे । हामी छक्क पर्थ्यौ । यीनिहरू हामीलाई राम्रो भनेर उसै फुलाऊछन खोज्छन जस्तो पनि लाग्थ्यो । तर कुरा त्यसो होईन रहेछ । जव नेपालका प्राय सवै भूभाग घुम्ने र सवै तिरको प्रकृती र संस्कृतिलाई चुम्ने अवसर मिल्यो । नेपाल आमाको अनुपम सुन्दरताको सम्पूर्ण अनुभूतीले मन्त्र मुग्ध वनायो ।
२०५१ सालमा वारा ३ वाट प्रतिनिधी सभा सदस्य भए । एशियाका सुन्दर र विकसित देश थाईलैण्ड र श्रीलंका घुम्ने अवसर पाए । नेपाल संग कतिपय संस्कृति मिल्ने देश रहेछन थाईलैण्ड र श्रीलंका । पहिलो त दुवै देश वुध्द धर्म प्रति अगाध आस्था राख्दा रहेछन । दोश्रो स्वस्ती या नमस्कार दुवै देशको शालीन संस्कृति रहेछ । दुवै देशको प्राकृत भाषा संस्कृत नै रहेछ । यि वाहेक पनि थुप्रै समानता रहेछन । दुवै देशमा भ्रमणका क्रममा थुप्रै प्रतिष्ठित व्यक्तित्वहरू भेटिनु भयो । सवैको नजरमा नेपाल जति सुन्दर देश अरू रहेनछ । जतिले नेपाल भ्रमण गरि सकेका थिए । सवै जना यात प्राकृतिक रूपले यात संस्कृति सँग जोडिएर नेपालको बखान गरेर थाक्दैन थे । हामीलाई वहुत गर्व महशुस हुन्थ्यो ।
२०७० सालमा दोश्रो पटक संविधान सभामा चुनिन पुगे । संयोगले देशको युवा तथा खेलकुद मन्त्री पनि हुने अवसर पाए । त्यस क्रममा खेलकुदका थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाग लिने अवसर पाए । संसार भरिका धेरै खालका खेल व्यक्तित्वहरू संग कुरा गर्ने अवसर प्राप्त भयो । चिन, जापान, कोरिया र रूसी महासंघ सहित एशिया र युरोपका थुप्रै सुन्दर देश घुम्ने अवसर पाइयो । जव कुरा नेपाली र नेपालको सुन्दरताको आउँथ्यो । सबका सव मित्र हरूको सकारात्मक प्रतिकृया सुन्दा गर्व लाग्थ्यो । नेपाल धेरै सुन्दर देश हो । नेपाल कहिल्यै पराधीन नभएको देश हो । नेपाल प्राकृतिक हिसाबले अतुलनीय देश हो । अझ नेपाल सास्कृतीक हिसावले विविधता सहितको एकताको नमुना देश हो । नेपाली जनता अत्यन्तै मायालु छन । खोचे भन्दा धेरै दयालु छन । नेपालीहरू सधै हॅसिला रसिला देखिन्छन । अतिथि सत्कारमा पोख्त छन । “अतिथि देवो भव: ” नेपालीहरूको संस्कार हो । जस्ता सुनी रहन मन लाग्ने प्रतिकृया पाइन्थ्यो ।
हामी अरूको देश संग लोभीई रहेका हुन्छौ । आर्थीक रूपले धनी देश धेरै छन । मानव निर्मित सुन्दर देश अरूनै छन ।
अरू देशमा पनि अनेक सुन्दरता नभएको होईन । हामीलाई जस्तो प्रकृतिले दिएको सुन्दरता अरू संग छैन । प्रकृतिले हामीलाई जति छाटकाट मिलाएर अरूलाई सुन्दरता दिएन । नर्वे, डेनमार्क, फ्रान्स भन्छन, पुगेर आइयो । स्वीटजरलैण्ड पनि प्राकृतिक भन्दा वढी मानव निर्मीत सुन्दरताले कहलीएको देश हो । तर नेपालको जत्तीकै प्राकृतीक, जैविक तथा सास्कृतिक विविधता बिल्कुल छैन । एकै दिनमा हिमाल, पहाड, तराई तिनै तहको प्राकृतीक सुन्दरता तथा वातावरणीय आनन्दको मज्जा लिन सकिने एकमात्र देश नेपाल हो । केही घण्टाको यात्रा पछि खपी नसक्नु गर्मीवाट उल्का जाडोको मज्जा लिन पाइने सुन्दर देश नेपाल हो । केही घण्टाको फरकमा सन्तुलित र प्राकृतिक एयर कण्डीसनमा बस्छु भन्दा पनि पाईने देश नेपाल हो । यस्तो प्राकृतिक विवीधता र सामिप्यताको मेल भएको देश सम्भवतः नेपाल नै होला ।
नेपाल पूर्वीय संस्कृतिको उद्गम स्थल हो । पूर्वीय दर्शनको आधार ग्रन्थ चारै वेदका लेखक वेदव्यासको सम्बन्ध पवित्र नेपाली भूमी संग छ । शैव संस्कृतिको केन्द्र नेपाल शंकरजीको वासस्थान हो । वैदिक मान्यता अनुसार तेत्तिसकोटी देवी देवताको शिर नेपाल हो । कैयौ ऋषि मुनीहरूको तपो भूमी नेपाल, पशुपति नाथको आश्रम पनि हो । नेपालमा मुक्तीनाथ धाम, देवघाट धाम, वडिमालीका, रामारोसन, खप्तड, स्वर्गद्वारी, हलेसी, पाथीभारा, लुम्बिनी, कंकालीमाई , गढीलाई, सलेह, छिन्नमस्ता सहित जानकी मन्दिर जस्ता ऐतिहासिक सास्कृतिक केन्द्रहरू छन । भनिन्छ नेपालमा जति घरहरू छन त्यती मन्दिर छन । जति जनता वस्छन, त्यती नै देवता छन । नेपाल देवी देवता र वैदीक युगका कथाहरू को आधार भूमी पनि हो । नेपाल संसार भरि शान्तिको शन्देश छर्ने महात्मा गौतम वुध्दको जन्म भूमी हो । यस्ता अपार वैभव र ऐश्वर्य हामी संग कती छन कती वुझ्न वाकि नै छ ।
वैदिक युगकी आदर्श नारी सिता ( जानकी माता ) को जन्म भूमी नेपालकै जनकपुर हो । आदी रामायणका लेखक ऋषि वाल्मिकी आश्रम देवघाट नजिकै छ । हामी संग यस्ता थुप्रै वैदिक तथा सास्कृतिक मौलीकताहरू छन । जस्को काउण्टर संसारको कुनैपनि देश संग छैन । नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक हिसावले अनेकौ विशेषता र मौलीकताको धनी देश हो । नेपाल संग जोडिएका किवदन्ती र कथाहरू नै दुनियालाई पढाउन काफी छन । नेपाली भूमीको परिचयको निम्ती यस्ता यावत कुरा छन जस्को वर्णन एउटा लेखमा सम्भव छैन । हामी यिनलाई संरक्षण तथा प्रवर्द्धन गर्न प्रयास मात्र गरिरहेका छौ ।
सगरमाथा नेपालको मुकुट हो । सागरमाथा संसारको सर्वोच्च शिखर पनि हो । संसारका सवभन्दा अग्ला हिमाल मध्ये सातवटा अग्ला हिमाल नेपालमा पर्दछन । महाकाली, कर्णाली, भेरी, राप्ती, गण्डकी र सप्तकोसी जस्ता ठुला नदीहरू नेपालमा छन । त्रिशुली, वाग्मती, विष्णुमती र काली गण्डकी जस्ता धार्मिक सास्कृतिक नदीहरू नेपालका धरोहर हुन ।
मुगुको रारा ताल, कास्कीको फेवा र वेगनास ताल, संसारको सबभन्दा अग्लो स्थानमा रहेको तिलीचो ताल सहित ताल तलैयाहरूको सुन्दरताले भरिपूर्ण देश हो नेपाल । संसारमा दुर्लभ ठानीएका यार्सागुम्वा, केशर, रुद्राक्ष, बोधीचित्त जस्ता जडीबुटी नेपालमा पाईन्छन । संसारकै सुन्दर चरा डाँफे नेपालको राष्ट्रिय चरो हो । संसारकै अनौठो जनावर एक सिङ्गो गैडा नेपालमा मात्र पाईन्छ । नेपाल अन्त कहि कल्पना नभएको हिम मानव यतीको भूमीको रूपमा समेत परिचित छ ।
नेपालमा थुप्रै यस्ता मौलीक चिजहरू छन, जो अन्त कतै पाईदैनन । संसारमा कतै नभएको कला संस्कृति नेपाल र नेपालीहरू संग छन । १० दिन सम्म विभीन्न देवीहरूको पुजा गरेर मनाइने वडादशै पर्व, पाच दिन सम्म काग देखी कुकुर सम्म, गाई देखी भाई सम्मलाई सम्मान गरेर मनाइने तिहार पर्व, तराईको विशेषता छठि पर्व, नेवार समुदायको किजा पुजा र कुमारी प्रथा सहित जल, जमिन र सूर्य जस्ता प्रकृती पूजाका अनौठा परम्पराहरू नेपालमा पाईन्छन । पूर्वी नेपालको उँधौली-उभौली, मध्य क्षेत्रमा पाइने दोहरी, बेठी र रोधी अनी पस्चीम नेपाल गाईने देउडा गीतको अनौठो संगम हो नेपाल । विविधताले भरिएको नेपालमा संसारकै सुन्दर र मौलीक रहन-सहन, भेष-भुषा तथा पहिरहनहरूको भण्डार छ । दौरा-सुरूवाल र टोपी नेपालको राष्ट्रिय पोशाक हो । चिटीक्क ढाका टोपी हेर्ने वित्तिकै संसारले नेपाली भनेर सहजै चिन्दछन ।
हामी नेपालीहरूको विचमा १०० भन्दा वढि मौलीक भाषाहरू छन । देशमा ७० भन्दा वढि जनजाति छन । सवै जन जातिका अलग अलग मौलीक भाषा,संस्कृति र परम्परा छन । सवैका आफ्नै मौलीक संस्कार छन । वरू हामी हाम्रो अपूर्व मौलीकता भुल्दै गएका छौ । हामी हाम्रो मौलिक संस्कृति विर्सदैछौ । हाम्रा मौलीक खान पिनका तरिका छन । मौलीक खालका घर-कटेरा, वस-उठ, सर-सफाई, श्रध्दा-सम्मान र वोली चालीहरू छन । तिनीहरूलाई विस्तारै भुल्दै गई रहेका छौ ।
त्यसैगरी खेलकुदमा पनि हामी अरूवाट अली वढिनै प्रभावित हुँदैछौ । हाम्रा मौलिक खालका मनोरन्जन साधनहरू भुल्दै गई रहेका छौ । हामी नेपालीहरू अरूको नक्कल गर्नमा मस्त मौला हुदैछौ । हाम्रा समाजमा स्थापीत वैवाहिक परम्परा र त्यस्ता विवाह कार्यक्रमहरूमा गाईने दोहोरी श्लोकको छुट्टै मज्जा छ । लोक दोहरी गाऊने र दोहोरी खेलेर हारजीतका आधारमा घर वसाऊने सम्मका संस्कार अझै जिऊदै छन । भजन संगीत हाम्रा मौलीक संस्कृतिका धरोहर हुन । संसारमा नभएका बिनायो, मुर्चुङ्गा, कर्नाल, र पञ्चै वाजा हाम्रा विशुध्द मौलीक वाजाहरू हुन । यिनलाई संरक्षण र प्रवर्धन गर्न हाम्रो ध्यान पुग्नु जरूरी छ ।
नेपालका विशिष्ट खालका मौलीक खेलहरू छन । द्वन्द युध्द या कुस्ती हाम्रो समाजको सवभन्दा पुरानो शक्ती परिक्षण गरेर मनोरन्जन लिने खेल थियो । कुस्ती अहिले पनि हाम्रो समाजमा लोकप्रीय खेलको रूपमा छ । तराईका गाऊघरमा साझ कुस्ती खेलेर मनोरन्जन लिने परम्परा कायम छ । अहिले पनि मेला जात्रा र सामाजीक, सास्कृतिक कार्यक्रमहरू मा कुस्ती ( दंगल ) खेल्ने र खेलाइने प्रचलन ज्युदै छ । नेपाली समाजमा खेलीने मौलीक खेलहरू मध्ये घरभीत्र खेल्न सकिने खेलहरूमा वाघचाल, वुध्दीचाल, खोपी, जादु देखाउने र दोहरी गीत प्रतियोगिता पर्न सक्दछन । हाम्रा मौलीक खेलहरूको संरक्षण र विकाश गर्न हामीले ध्यान पुर्याउन आवश्यक छ ?
यसैगरी घर वाहीर खेलीने मौलीक खेलहरूमा तिर-धनुष, भकुण्डो, तरवार-वाजी, कुस्ती, लट्ठी, डण्डीवियो, कपर्दी, दौड, र डोरी तानातान आदि खेलहरू छन । यसमध्ये तिर-धनुष अर्थात आर्चरी खेल अहिले ओलम्पीक खेलमा पनि समावेश छ । तरवार-वाजी खेल पनि नया ढंगले ओलम्पीकमा समेत खेलीन्छ । कुस्ती खेल पनि सवै अन्तराष्ट्रिय प्रतियोगिता हरूमा खेलीने लोकप्रीय खेल हो । डण्डी वियो र कपर्दी विगतमा नेपालको राष्ट्रिय खेल थियो । अहिले भलिबललाई देशको राष्ट्रीय खेल घोषित गरिएको छ । देशको घोषित राष्ट्रिय खेलमा राज्यको यथेष्ट ध्यान जानु जरूरी हुन्छ ।
नेपालको भूगोल अती नै सुन्दर छ । नेपालको प्राकृतिक वनोट अनुपम छ । यहाको प्राकृतिक सुन्दरताको बयान गरेर साध्य छैन । नेपालको संस्कृती र परम्पराको संसारमा कसैको जोड छैन । स्वयम हामी नेपालीहरू भने आफ्नो सुन्दरता गुमाउदै गएका छौ । हामी ‘ वसुधैव कुटुम्बकम ‘ र ‘अतिथि देवो भव’ संस्कार मात्र होईन । ” संगगच्छध्वम संगवदध्वम ” संस्कारलाई पनि अमल गरिरहेका छैनौ । हामीले प्रकृतीले दिएको अनुपम सुन्दरता र सास्कृतिक गौरवलाई मात्र वुझेर देश हितमा लगाउन सकेपनि चमत्कार हुन सक्छ । यो चमत्कार हामी नेपालीहरू मिलेर मात्र गर्न सक्छौ । यता तिर निसंकोच अग्रसर हुन सवैमा सद्वुध्दी आओस । जय जय होस ।।।

the authoradmin

Leave a Reply