नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिका वडा नं ३३ स्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा आजदेखि सुरु भएको छ ।
पोखरा – ३३ को कालिकास्थानमा प्रधान कार्यालय रही विभिन्न पाँचवटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सहकारीले कोरोना महामारीको जोखिमलाई दृष्टिगत गर्दै सप्ताहव्यापी रुपमा साधारणसभा गर्न लागेको हो ।
साधारणसभाको एक समारोहकाबीच आज पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गरे ।
कार्यक्रममा वडा अध्यक्ष आचार्यले शेयर सदस्यको आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिने किसिमका कार्यक्रम ल्याउन आग्रह गरे । सहकारी प्रतिको जनविश्वास कायम गर्न आर्थिक अनुशासनको पनि उत्तिकै आवश्यकता हुने औंल्याउँदै उनले आर्थिक अनुशासनका पद्धति विकास गर्नुपर्नेमा जोड दिए ।पोखरा महानगरपालिकामा रहेका सहकारीलाई उत्पादनसँगै पर्यावरणीय संरक्षणमा समेत जोड्ने लक्ष्य रहेको बताउँदै उनले त्यसका लागि वडाका तर्फबाट पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।
सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले सहकारीलाई यस अवस्थासम्म ल्याइपु¥याउने सबै प्रति आभार व्यक्त गर्दै शेयर सदस्यहरूको विश्वासलाई आगामी दिनमा अझै बलियो बनाउने गरी कृयाशिल हुने बताए । कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरालाई दृष्टिगत गर्दै साधारसभाका कार्यक्रम सप्ताहव्यापी रुपमा सेवा केन्द्रहरू मार्फत गर्न लागिएको उनले जानकारी दिए ।
कार्यक्रममा सल्लाहकारद्वय केशरप्रसाद निदोर्षी र यज्ञप्रसाद अधिकारी(ठूला)ले शेयर सदस्यको विश्वास जित्ने गरी थप रचनात्मक कार्यक्रम सहित कृयाशिल बन्न आग्रह गरे । संस्थाका सचिव यज्ञप्रसाद आचार्यद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद कंडेलले स्वागत गरे भने शिक्षा समिति संयोजक निर्मल आचार्यले सहकारीका सिद्धान्त वाचन गरेका थिए ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार दुई हजार १०९ जना शेयर सदस्य रहेको सहकारीले ६५ करोड ३७ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको छ । पोखरा – ३३ कालिकास्थानस्थित प्रधान कार्यालय सहित पोखरा – ३३ कै लामगादी र पुँडीटारका साथै पोखरा – ८ को न्यूरोड एवम् पोखरा – २९ का भण्डारढिक र पुलचोकस्थित सेवा केन्द्रहरूबाट सेवा प्रवाह भैरहेको उनले जानकारी दिए ।

