प्रदेश ४समाचारसमाज

गोरखाका तिन सडकको स्तरोन्नती हुने, मन्त्रीले गरे शिलन्यास

गोरखा । जिल्लाका महत्वपूर्ण तिन सडक स्तरोन्नतीका लागि एकै दिन शिलन्यास भएका छन् । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरगत गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सोमबार छुट्टाछुट्टै कार्यक्रमका बिच सो सडकहरुको शिलन्यास गरेका हुन् । गोरखा नगरपालिकाको ढुंगागाढे भञ्ज्याङदेखि शहिद लखन गाउँपालिकाको नामजुङ, अजिरकोटको सिमजुङदेखि भच्चेकबजार र सिरानचोकको चोरकाटेदेखि अजिरकोटको भच्चेकसम्मको सडक शिलन्यास भएका हुन् ।
दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य सहित ति सडकहरुको निर्माण कार्य सुरु भएको छ । १२ किलोमिटर दुरी रहेको ढुंगागाढे–नामजुङ सडक कालोपत्रे गर्नका लागि ३३ करोड ९१ लाख रकममा लामा कन्ट्रक्सन काठमाण्डौसंग सम्झौता भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताए । त्यस्तै चोरकाटे–भच्चेक सडकका लागि २१ करोड २९ लाख लागत लाग्ने उनको भनाई छ । जुन ९ दशमलव ५ किलोमिटर कालोपत्रे हुनेछ । त्यस्तै सिजमुङ–भच्चेकबजारसम्मको २२ किलोमिटर दुरीको सडक ग्राभेल र स्तरोन्नतीका लागि २० करोड ५६ लाख बजेटमा बिरुवा नाना गोरखा जेभीसंग सम्झौता भएको बताइएको छ ।
२०७८ कार्तिक मसान्तसम्म समयसिमा तोकिएको सो सडकहरु ५ दशमलव ५ मिटर चौडाईमा कालोपत्रे र स्तोन्नती हुनेछन् । ‘७ मिटरको सडकमा साडे ५ मिटर पिच हुन्छ, अरु नाली बन्छ’ कार्यालय प्रमुख पराजुलीले भने । गोरखामा रहेका ४ प्रदेश निर्वाचन क्षेत्रमध्ये ३ वटाको सोमबार एकैदिन शिलन्यास भएका हुन् । बाँकी रहेको बारपाक–लाप्राक सडक खण्डको भने केहि दिनमा शिलन्यास गर्ने तयारी रहेको प्रमुख पराजुलीले बताए ।
त्यस्तै सोमबार नै मन्त्री बस्नेतले दरौदी नदीमाथी बन्ने झोलुङ्गे पुलको समेत शिलन्यास गरेका छन् । गोरखा नगरपालिकाको कुमालगाउँदेखी सिरानचोकको छोप्राक जोड्ने ३ सय मिटरको झोलुङ्गे पुल निर्माणका लागि गोरखा जगदम्बा जेभीसंग ३ करोड २९ लाखमा सम्झौता भएको छ । जुन २०७७ को चैत मसान्तभित्र निर्माण गरिसक्नुपर्ने छ ।
गाउँको विकास गर्न संघियता आएको हो ः मन्त्री बस्नेत
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गाउँको विकास गर्न संघियता आएको बताएका छन् । ढुंगागाढे–नामजुङ सडक खण्ड कालोपत्रे गर्ने कामको शिलन्यास गर्दै मन्त्री बस्नेतले गरिब जनता र गाउँको विकासका लागि संघियता आएकाले अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । ‘जनताले अनुभुत गर्ने खालको विकास संघियताले ल्याएको छ’ उनले भने ‘हातमा ठेला उठेका जनता र दुर्गम गाउँको साथमा सरकार छ, अब ढुक्क हुनुस् ।’
गण्डकी प्रदेश भरका ३६ सडकलाई एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरगत स्तरोन्नती गर्ने गरी अघि बढाइएको जानकारी दिदै मन्त्री बस्नेतले विकासका मुद्धामा एक हुन सबैलाई आग्रह गरे । अन्य राजनीतिक दलमाथी संकेत गर्दै उनले अरुलाई सत्रु देख्ने प्रवृत्ति र चिन्तनबाट मुक्त हुनुपर्ने बताए । ‘हामीलाई चाहिएको विकास हो, त्यसका लागि अरुलाई सत्रु देख्ने हाम्रो सोच र चिन्तनबाट बाहिर निस्किन जरुरी छ’ उनले थपे ‘हाम्रो साझा सत्रु भ्रष्ट्राचार हो अब त्यसको विरुद्धमा लाग्ने बेला आएको छ ।’
राज्यको सम्पत्ति दुरुपयोग गर्नेलाई नागरिकले नै ठेगान लगाउनुपर्नेमा जोड दिदै मन्त्री बस्नतेले आफ्नो भोट बैंकमा मात्रै बजेट छर्ने प्रबत्तिको अन्त्य हुनुपर्ने तर्क गरे । शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले सरकारका काममा सहयोग गर्न नागरिकलाई आह्वान गरे । ‘सबैलाई विकास चाहिएको छ, सम्बृद्धिको खाँचो छ, अब तिनै तहका सरकारले गरेका कामको अनुगमन जनताले गर्नुपर्छ’ नगरप्रमुख पन्तले भने ।

the authoradmin

Leave a Reply