राजनीतिसमाचार

शीर्ष तहमा छलफल गरेरमात्रै मुख्यमन्त्री हेरफेर गर्ने बाग्मती संसदीय दलको निर्णय

Nepal Akhabar

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय समितिको बैठक सकिएको छ। बैठकले बाग्मती सरकारको मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमा छलफल गरेर मात्र निर्णयमा पुग्ने निष्कर्ष निकालेको छ  ।
शनिबार बसेको पार्टीको बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलका शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निष्कर्ष निकालेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान चलाएपछि यो प्रशंग आएको हो । जसको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने एकीकृत समाजवादीले अडान राखेको छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै प्रदेशमा समान ढंगले अवसरहरुको बाँडफाड गर्नेगरी शीर्ष तहले टुंग्याउनुपर्ने बताउनु भयो  ।
‘गठबन्धनका दलभित्र बसेर सबैतिर एकैतिर सेटल गर्ने गरी उपयुक्त अवसरहरुको बाँडफाँड गर्ने गरी काम ग¥यो भने सबैभन्दा परिपक्व हुन्छ’ उनले भने, ‘यसो गर्दा प्रत्येक सांसदहरुले तनाव लिनु पनि पर्दैन ।’
सात प्रदेशमध्ये हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २–२ जना र जनता समाजवादी पार्टीका एक जना मुख्यमन्त्री छन् ।
एकीकृत समाजवादीले बागमती प्रदेशको मुख्यमन्त्री छाड्नुपर्ने अवस्थामा आफूहरुले पाइरहेको दुईवटा मुख्यमन्त्री पद घट्न नहुने पार्टीको अडान छ ।
प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना हाललाई मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो ।
बागमती प्रदेशको संसदीय दलको बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहित मुख्यमन्त्री पाण्डे,उपाध्यक्ष तथा बाग्मती इञ्चार्ज केदार न्यौपाने,पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा सहित प्रदेशका सवै सांसदहरुको उपस्थिति रहेको थियो  ।
नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय समितिको बैठक सकिएको छ।
बैठक नियमित प्रक्रियामा  बसेको बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री कृष्ण खनालले जानकारी दिनुभयो।

the authoradmin