
नेपालअखबार, काठमाडाै । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार भएको उपसभामुखको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गरी उनी उपसभामुखमा विजयी भएकी हुन् । २४२ सांसद उपस्थिति रहेकोमा १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी छिन् । ९३ सांसद विपक्षमा उभिँदा १ जना तटस्थ रहेका थिए । करिब ६ महिनामा कार्यकाल सकिन लागेको प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।
एमाले र माओवादीको गठबन्धन हुँदा २०७४ चैतमा भएको उपसभामुखको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन् । तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसालले ५८ मत मात्रै ल्याएकी थिइन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद २९ महिनादेखि रिक्त थियो ।
तत्कालीन सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले राजीनामा दिएकी थिइन् । प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिङ्गबाट हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण तत्कालीन नेकपाले तत्काल उपसभामुखको निर्वाचन गर्न चाहेन । सर्वोच्चको फैसलाबाट ०७७ फागुनमा एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि संसदको यही कार्यकालमा उपसभामुख हुने पुष्पाको सपना पुरा भएको हो । ७४ मा काँग्रेसकै पाँच सांसदको मत समेत नपाएकी भुसालले ०७८ मा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा र राष्ट्रिय जनमोर्चाको मत प्राप्त गरिन् । उनी करिब ६ महिना उपसभामुखको पद सम्हाल्ने छिन् ।

