समाचार

दुई दिन देशका धेरै स्थानमा पानी पर्ने सम्भावना

नेपालअखबार, काठमाडौं । गर्मीले आलसतालस बनाइरहेको बेला केही दिनका लागि राहत मिल्ने सम्भावना छ । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ ।

मौसमविद् हिरा भट्टराईका अनुसार मंगलबार र बुधबार आजभन्दा पनि धेरै स्थानमा वर्षा हुने सम्भावना छ । ‘मंगलबार सुदूरपश्चिम, कर्णाली , गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने छ,’ मौसमविद भट्टराईले भने, ‘बुधबार एरिया कभरेज थप बढ्छ ।’

बिहान करिब ६ बजेतिर प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

मनसुनी प्रणाली कमजोर हुँदा केही दिनयता बढेको गर्मीकाबीच भएको वर्षाले केही राहत महसुस भएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा राति हल्का वर्षा हुँदा केही शीतल महसुस भएको छ ।काठमाडौं उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन भएको थियो । यो यस वर्षको मनसुन अवधिकै सबैभन्दा बढी तापक्रम हो ।

the authoradmin