प्रदेश ३मनोरञ्जनसमाचार

लोकगायक पौडेल बागमती प्रदेश सरकारबाट ‘कलाकीर्ति’ पदकद्वारा सम्मानित

Nepal Akhabar

नेपालअखबार । चर्चित लोकगायक नवीन पौडेललाई बागमती प्रदेश सरकारले सम्मान गरेको छ । संगीत कलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएवापत प्रदेश सरकारले उनलाई ‘कलाकीर्ति’ पदकद्वारा सम्मान गरेको हो ।

गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशको मुख्यालय हेटौंडाको मुख्यमन्त्री कार्यालय परिसरमा आयोजित कार्यक्रममा गायक पौडेलसहित विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याएवापत विभिन्न व्यक्तिहरू सम्मानित भएका छन् । डा. सन्दुक रुइत, डा. महावीर पुनलगायत विभिन्न क्षेत्रका ४३ जना व्यक्तिलाई विभिन्न मानपदवी एवं पदकद्वारा सम्मान गरिएको थियो ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, सभामुख सानुकुमार श्रेष्ठ र बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गायक पौडेललाई सम्मान गरेका थिए ।

गायक पौडेलले यसअघि राष्ट्रपतिबाट ‘सुप्रबल जनसेवाश्री’, संस्कृती पर्यटन मन्त्रालयबाट पचास हजार राशीको बागमती प्रदेशस्तरीय बागमती प्रादेशिक प्रतिभा पुरस्कार’ र केही समयअघि ‘लेउ खुकुरी लेउ’ बोलको भ्रष्टाचार विरोधी गीत गाएवापत अमेरिकास्थित हेम– सरिता फाउन्डेसनबाट एक हजार डलर राशीसहित भ्रष्टाचार विरोधी गीति पुरस्कार प्राप्त गरेका थिए । दुई दशकदेखि नेपाली लोक संगीतमा सक्रिय पौडेलले डेढ सय बढी गीतमा स्वर दिएका छन् । उनले मनोरञ्जनका साथै चेतनामूलक गीतहरू समेत गाउँदै आएका छन् ।

the authoradmin