
नेपालअखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताएका छन्।
स्वास्थ्य बीमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भइरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रिपरिषदमा तत्काल प्रस्ताव लैजाने गरी प्रक्रिया अघि बढाइएको बताएका हुन्।
शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो बीमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै सञ्चालन गरिनेछ भन्ने व्यवस्था गरिएको र त्यसलाई संसदले पनि पारित गरेकाले अहिले त्यसको संचालनमा समस्या आएको पनि स्पष्ट पारे।
त्यस सम्बन्धमा बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले आफूले सो प्रक्रिया अघि बढाएको पनि समितिलाई मन्त्री खापुङले जानकारी दिए।
उनले भने, ‘यो बीमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै सञ्चालन गरिनेछ भन्ने अर्थमन्त्रीज्यूबाट बजेट भाषणमा आयो। त्यो चाहिँ संसदबाट पनि पारित भइसकेको छ। बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयमा सोधेर पठाएको छ। अर्कोतिर चारैतिरबाट प्राइभेटलाई सहभागिता नगराउँदाखेरी यो बीमा कार्यक्रम प्रभावकारी हुँदैन भन्ने सुझाव पनि सबैतिरबाट आएको छ। यो यो बजेट सँगसँगै पास भएको छ र, बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेर पठाएको हुनाले हामीले मन्त्रालयबाट तहबाट मात्रै निर्णय गर्दाखेरी अलि अप्ठ्यारो हुन्छ होला भनेर क्याबिनेट मिटिङमा लानेगरी त्यसलाई अगाडि बढाएका छौं र, क्याबिनेटले त्यसको डिसिजन गर्नेछ।’
मन्त्री खापुङले प्राइभेट क्षेत्रको सहभागिताबिना स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नहुने सुझाव सबैतिरबाट आएकाले सरकार सोही अनुसार अघि बढ्ने धारणा पनि राखे।
उनले सो बीमा कार्यक्रमलाई दीगो र व्यवस्थित बनाउन सरकारले छुट्टै कम्पनी खडा गरेर अघि बढ्ने तयारी गरिरहेको समेत बताए।

