Friday, April 24

आगामी प्रतिनिधिसभा निर्वाचनसम्मनै वर्तमान सत्ता गठबन्धन कायमै रहने :अध्यक्ष नेपाल

नेपालअखबार, पाेखरा। नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनसम्मनै वर्तमान सत्ता गठबन्धन कायमै रहने बताउनुभएको छ ।

चवालिसौँ पुष्पलाल स्मति दिवसका सन्दर्भमा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले आज पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उहाँले प्रतिगमन रोक्न, संविधान र सङ्घीयता जोगाउन पाँचदलीय गठबन्धन बनाएर चुनावमा जानु परेको बताउनुभयो ।

Advertisement

अध्यक्ष नेपालले निर्वाचनमा दलहरुबीच सिटको बाँडफाँट भने सम्मानजनक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“अहिलेको गठबन्धन टुट्ने वाला छैन,आउने चुनावसम्म कायमै रहन्छ तर निर्वाचनमा जम्मै सिट जति आफू लिउँला उर्घिएको मात्र दिउँला भनेर कुनै पार्टी विशेषले सोच्छ भने हामी टुलुटुलु हेर्ने वाला छैनौँ,आफ्नो शक्तिमा भरोसा गरेर अघि बढ्नेछौँ ।”

अध्यक्ष नेपालले तत्कालीन नेकपाको एकता कायमै राख्न सकेको भए कम्युनिष्ट पार्टी लोकप्रिय हुँदै जाने र निर्वाचनमा पनि राम्रो नतिजा प्राप्त गर्ने अवस्था रहेपनि एमाले अध्यक्ष केपी ओलीका कारण त्यो अवसर गुमेको उल्लेख गर्नुभयो ।

कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता र जनजिविकाको झण्डालाई बुलन्द पार्न पुष्पलालका अनुयायीहरुले उहाँबाट प्रेरणा प्राप्त गर्दै अघि बढ्न सक्नुपर्नेमा उहाँको जोड छ ।

पुष्पलालले अवलम्वन गरेको बाटोमा कहिल्यै पनि खोट नभएको बताउँदै अध्यक्ष नेपालले उहाँकै विचारबाट निर्देशित कम्युनिष्ट पार्टीले जनतामा प्रभाव जमाउन , जनताको विश्वास जित्न सफल भएको र कम्युनिष्ट जनमत नेपालमा बलियो बनेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“ पञ्चायती तानाशाहीका विरुद्ध लडेर बहुदलीय व्यवस्था स्थापना र राजाको निरङ्कुशताका विरुद्ध लडेर गणतन्त्र स्थापना कम्युनिष्टहरुले गरेका हुन् । गणतन्त्र र लोकतन्त्रको पक्षमा दृढताका साथ उभिएका छन् । लोकतन्त्रको हिमायती हामीमात्रै हौँ भनेर कसैले नठाने हुन्छ ,लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिने र लोकतान्त्रिक मूल्य र मान्यतालाई अघि सार्ने नेपाली कम्युनिष्टहरु हुन् ।”

कार्यक्रममा नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य हरिबहादुर चुमान,अधिवक्ता तिलक पराजुली लगायतले नेपाली राजनीतिलाई उलटपुलट गर्ने स्व पुष्पलालका विचारहरुलाई परिर्वतनका अभियन्ताहरुले आत्मात् गर्नुपर्ने र योगदान कहिल्यै बिर्सन नहुनेमा जोड दिनुभएको थियो ।