समाचारसमाजसुरक्षा-अपराध

कतार प्रहरीमा पठाइदिने भन्दै विज्ञापन निकाल्ने मेनपावरमा छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा

Nepal Akhabar

नेपाल अखबार, काठमाडौं ।कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापनको पत्र सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजमा छापा मारेको हो । छापा मारेर उक्त विज्ञापनसम्बन्धी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको विभागका निर्देशक डम्बर बहादुर सुनुवारले जानकारी दिए । पत्रिकामा विज्ञापन निकालेको कटिङ देखाउँदै ओभरसिजको नाममा साउन २५, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समय तय गरिएको थियो । २०० जनाको डिमान्ड देखाएर उक्त कम्पनीको नामबाट विज्ञापन सार्वजनिक गरिएको थियो । उक्त संस्थाले विभिन्न व्यक्तिहरुबाट १५ लाख रुपैयाँसम्म उठाइरहेको भन्ने सूचना आएपछि छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिइएको निर्देशक सुनुवारले बताए । आकस्मिक अनुगमनको क्रममा गतिविधि शंकास्पद देखिएपछि कतार प्रहरीसँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको उनले बताए । अन्तर्वार्ताको लागि होटल हायातामा हल बुकिङ गरिएको थियो । कम्पनीले नक्कली विज्ञापन प्रकाशित गरेर प्रत्येक व्यक्तिबाट १५ लाखका दरले पैसा उठाइरहेको भन्ने गुनासो विभागमा पुगेको थियो । सोही आधारमा आकस्मिक अनुगमन गरिएको उनले बताए । गत वर्ष पनि यही कम्पनीमाथि ठगीको आरोप लागेको थियो । अन्तिममा आएर सरकारले कतार प्रहरीको माग नलिने निर्णय गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको डिमान्ड श्रम सम्झौताअनुसार प्रमाणीकरण गर्न अनुमति दिएको केही दिनपछि नेपाली दूतावासले अल ताक्वेत ओभरसिज नेपालले ल्याएको माग रद्द गरेको थियो । कतारस्थित नेपाली दूतावासले कतार प्रहरीका लागि पठाएको २ सय जनाको डिमान्ड रद्द गरेको थियो । कतारको आन्तरिक मन्त्रालयले यहि अल ताक्वेत ओभरसिजलाई २ सय जनाको डिमान्ड कतार प्रहरीमा कामदार लिन प्रमाणीकरण गरेको थियो ।ओभरसिजले कामदार भर्ना प्रक्रिया जारी राखेकै अवस्थामा नेपाली दूतावासले कामदार पठाउने तयारी रद्द गर्न विभागलाई पत्र पठाएको थियो । सोही आधारमा विभागले रद्द गरेको थियो । रद्द गरेको एक वर्ष नपुग्ने पुनः प्रक्रिया थालिएको भन्दै ओभरसिजको नाममा विज्ञापन सार्वजनिक भएको हो । कतार प्रहरीमा लामो समयदेखि नेपाली कामदार लैजाने चर्चा लामो समयदेखि चल्दै आएको छ । तर, अहिलेसम्म लैजान सकिएको छैन् । यसअघि २०७६ को फागुनमा १७९ जना नेपाली कामदारलाई कतार प्रहरीमा लगिएको थियो । उनीहरुको कार्यक्षमता सन्तोषजनक पाएपछि कतारको आन्तरिक मन्त्रालयले कतार प्रहरीमा नेपाली भर्ना गर्ने निर्णय गरेको थियो । तर, भर्ना छनौट प्रक्रियामा लाखौंको चलखेल सुरु भएपछि अन्ततः उक्त अवसर नेपालबाट गुमेको थियो ।