मोहसिन अलि मियाँ
गोरखा । वडा कार्यालयको भवन नहुँदा चुमनुब्री गाउँपालिका ७ मा समस्या भएको छ । भएको भवन गत बर्षको हावाहुरीले उडाएपछि छेकमपारमा रहेको गुम्बाबाट कार्यालयले सेवा दिनुपर्ने बाध्यता छ । साविक छेकमपार ६ ल्हारमा रहेको वडा कार्यालय भवनमा अघिल्लो बर्षको हावाहुरीले पूर्ण क्षती पुरयाएपछि हाल चुम गुम्बाबाट वडा कार्यालयको काम चलाउनु परेको हो ।
‘भएको भवन हावाले उडायो’ वडाध्यक्ष पासाङ फुञ्जो लामाले भने ‘के गर्ने भवन छैन भनेर सेवा रोक्ने कुरा भएन, अहिले गुम्बाबाट सेवा दिइरहेका छौ ।’
भूकम्पले भत्काएको साविकको गाविस भवनलाई पुनर्निमाण गर्न भन्दै छेकमपार पुगेको पिन नामक संस्थाले अघिल्लो बर्ष मात्रै वडा कार्यालय बनाइदिएको थियो । तर निर्माण भएकै बर्ष हुरीले छानोसंगै भवनमा क्षती पु¥याएपछि वडा कार्यालयको बिचल्ली परेको हो ।
‘भवन बनाउन अरु संस्था पनि आएका थिए, पिन भन्ने संस्थाले हामी बनाइदिन्छौ भनेर जिम्मा लियो’ वडाध्यक्ष लामाले भने ‘सबै कमसल सामान हालेछ, जस्ता पनि पातालो, एकैचोटी सबै लडायो ।’ कतिपय बेला त झोलामै छाप बोकेर समेत हिड्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । त्यति मात्रै होइन, वडाको बैठक तथा भेलाहरु समेत गुम्बा र ब्यक्तिका घरहरुमा गर्नुपरेको छ ।

वडा कार्यालय भवन नहुदा जनप्रतिनिधीलाई भन्दा सर्वसाधारणले थप सास्ती भोग्नुपर्ने अवस्था छ । निश्चित स्थानमा भवन नहुदा वडाध्यक्षलाई खोज्दै हिड््नुपर्ने स्थानीयको दुखेसो छ । ‘पहिलेको ठाउँमा अफिस छैन, अहिले कता हो कता’ स्थानीय सोनाम लामाले भने ‘काम लिएर गयो वडाध्यक्षलाई खोज्दै हिड्नुपर्ने बाध्यता छ ।’
भवन नहुँदा सेवा प्रवाहमा समस्या भएपछि गाउँपालिकाले यस बर्ष ४० लाख बजेट बिनियोजन गरेको जनाएको छ । आर्थिक बर्ष २०७६÷०७७ मा कार्यान्वयन हुनेगरी कार्यालयले भवन निर्माणका लागि सो रकम छुट्याएको जनाएको छ ।
‘भवन नहुदा समस्या भएकै हो’ प्रमुख प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले भने ‘अघिल्लो बर्ष माग नै नआएकाले बजेट नपरेको हो, यो बर्ष माग आयो, हामीले ४० लाख छुट्याएका छौ, त्यति पैसाले यो बर्ष कति बन्छ हेरेर अर्को बर्ष पनि बजेट हाल्छौ ।’
भवन निर्माणका लागि उपभोक्ता समितिलाई जिम्मा दिने गाउँपालिकाले तयारी गरेको जनाएको छ । सात वटा वडा रहेको चुमनुब्रीको अन्य ६ वटा वडामा भने आफ्नै भवन छ ।

