Tuesday, April 21

पहिरोमा परेर रूकुम पश्चिममा आमा-छोरीको मृत्यु

नेपालअखबार, रूकुम। रूकुम पश्चिममा पहिरोमा परेका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ।

आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतिक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

उनकी जेठी छोरी तिर्सनाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए।

माइतीबाट घर फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए।

भेरी नगरपालिका १ मैतेस्थित माइतीमा दर खाएर उनी घर फर्कदै थिइन्। पानी परेपछि उनीहरू छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए।

आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा माथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको थियो।

आइतबार दिउँसो करिब १ बजेतिर उनीहरूलाई पहिरोले पुरेको थियो। पहिरोबाट निकालेर उनीहरूलाई अस्पताल लगिएको थियो। दुई जनाको मृत्यु भएको र एकको उपचार जारी रहेको प्रहरीले जनाएको छ।