Friday, April 24

गाउँघरमा देखिन छाडे रातो माटो र कमेराको भित्ता

नेपालअखबार, । देवचुली–१५ कि सीतादेवी पौडेल अहिले  ६० वर्षकी भइन्। उनको जीवनकालमा ५० वटाभन्दा धेरै दसैंको प्रत्यक्ष अनुभव छ तर पछिल्ला १०/१२ वटा दसैं भने सीतादेवीलाई दसैंजस्तो लागेको छैन। करिब १२ वर्षअघि माटोको घर भत्काएर कङ्क्रिट र सिमेन्टबाट नयाँ घर बनाएपछि रातो माटो र कमेरोले घर लितपोत गर्नु त परै जाओस् तिनलाई देख्नसमेत नपाएको उनी बताउँछिन्।

‘जति नै दुःख भए पनि घटस्थापना आउनुभन्दा पहिल्यै अघिदेखि नै पहेंलो र  रातो माटो तथा कमेरो ल्याएर घर चिटिक्क पार्दा दसैं आएझैं लाग्थ्यो तर अहिले सुख भए पनि दसैं जस्तो लाग्दैन’, सीतादेवीको भनाइ छ।

Advertisement

उनीजस्तै रातो माटो र कमेरोले पोतेका घर नदेख्दा ७० काटेकी हुप्सेकोट–३ की खगिसरा काफ्ले पनि आजकलको दसैं खल्लो लाग्ने गरेको बताउँछिन्।

‘जमानाअनुसार चल्नैपर्ने के के हो के के रङ लगाएर घर त रङ्ग्याइन्छ तर रातो माटो र कमेरो जस्तो हुँदोरहेनछ’, उनी भन्छिन्।

विगतमा दसैं र तिहारका समयमा रातोमाटो र कमेरोले घर रङ्ग्याउने प्रचलन हराउँदै गएको छ।

विशेषगरी परम्परागत शैलीका ढुंगा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्दथ्यो। पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो।

पितृपक्ष सकिएलगत्तै घटस्थापनादेखि दसैं सुरू हुन्छ। दसैं सुरू हुनासाथ सबभन्दा पहिले आफ्नो घर, आँगन सफा गर्ने तथा रङरोगन गर्ने चलन थियो। घटस्थापनाका दिन जमरा राख्नुपूर्व घरलाई रातो माटो र कमेरोले चिटिक्क पारेर लितपोत गरी घरलाई चोखो पारेर जमरा राख्ने गरिन्थ्यो तर पछिल्ला केही वर्षयता गाउँ घरतिर पनि कङ्क्रिट तथा सिमेन्टको घर बन्नेक्रम बढेपछि रातो माटो र कमेरोले लिपेका घर देख्न छोडेको छ।

केही वर्ष पहिले महाराजा सामुदायिक वनमा रहेको रातो माटोको डाँडामा दसैं आउनु अगाडिदेखि नै रातो माटो लिन आउनेको भीड लाग्थ्यो तर पछिल्ला केही वर्षदेखि रातो माटो लिन आउने मान्छे औँलामा गन्न सकिने पुगेका सामुदायिक वनका हेरालु गणेश चन्द बताउँछन्।

आधुनिकता सँगसँगै विकासको लहर गाउँमा पसेपछि रातो माटो र कमेरोले लिपेका घर आजकल निकै कम देखिन्छन्। कङ्क्रिट र सिमेन्टको घरमा बजारबाट कृत्रिम रङ ल्याएर घर रङ्ग्याउने चलन बढेसँगै रातो माटो र कमेराले घर पोत्ने चलन हराउँदै जान लागेको पण्डित रिमप्रसाद आचार्य बताउँछन्।

कुनै बेला दसैं आउनु पहिलै रातो माटोले घर लितपोत गरेर चिटिक्क पार्ने, बाबियोको डोरीको लिङ्गे पिङ बनाउने, सबै मिलेर गाउँका बाटाघाटा र मठमन्दिर सफाइ गर्ने गरिन्थ्यो तर आजकाल आधुनिकताका नाम यस्ता चलन हराउँदै गएको र समाज साघुरिँदै गएको उनको भनाइ छ।

‘केही वर्षअघि घरमा रातो माटो र कमेरोले लितपोत गर्नु दसैं तिहारसँगै जोएिको संस्कृतिको अर्को पाटो जस्तै बनेको थियो’, पण्डित आचार्य भन्छन्, ‘आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुरा इतिहास जस्तै बन्ने गरेका छन्।’

त्यति मात्रै होइन दसैं आएसँगै दसैंका लागि आवश्यक चिउरा, चामल, तेल गाउँकै ढिकी, जाँतो र कोलमा कुटानीपिसानी गर्ने चलन थियो। बढ्दो आधुनिकता र प्रविधिका कारण गाउँ घरमा अहिले ढिकीजाँतो र कोल पनि हराउँदै गएका छन्। चाडबाडका बेला सुनिने ढिकीजाँतो र कोलको आवाज सुनिन छाडेको छ।

आधुनिकता र प्रविधिको बढ्दो प्रयोग र विकाससँगै दसैं, तिहारलगायत चाडपर्वको मौलिकता घट्दै गएको छ। दसैं लगायतका चाडपर्व सुरू हुनु अगाडि रातो माटो, कमेराले घर आँगन लितपोत गरेर रङ्गाउने र लिङ्गेपिङ हाल्ने, चलन हराउँदै जाँदा चाडपर्व खानपान र आधुनिकताको रमाइलोमा मात्रै सीमित हुँदै गएकामा संस्कृतिविद्ले चिन्ता व्यक्त गरेका छन्। रासस