विचारसाहित्य \कला

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस र हाम्रो सन्दर्भ

लेखनाथ सिकारु  ।  आज ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईदै छ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइदै छ ।संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ’को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि ‘ज्येष्ठ नागरिक उत्थानशीलताः  बदलिँदो विश्वको लागि अपरिहार्यता’ “Resilience of Older Persons in a Changing World” भन्ने मूल विषय निर्धारण गरेको छ ।

तथ्याङ्कले भन्छ विश्वमा प्रत्येक सेकेन्डमा दुई जना ६० वर्षे ज्येष्ठ नागरिकमा प्रवेश गर्छन् । अहिले विश्वमा ९० करोडको हाराहारीमा रहेका ज्येष्ठ नागरिक सन् २०५० सम्ममा डेढ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । २०५० पछि विश्वको कुल जनसङ्ख्याको २२ प्रतिशत जनसंख्या ज्येष्ठ नागरिकहरूको हुनेछ । त्यो जनसंख्या १५ वर्षमुनिको उमेर समूहभन्दा ६० वर्षको उमेर समूहको जनसंख्या धेरै हुनेछ । नेपालमा पनि स्वास्थ्य र जनचेतनामा सकारात्मक परिवर्तनका कारण नेपालीको सरदर बाँच्ने आयु दर वृद्धि हुँदै गएको छ । ज्येष्ठ नागरिकको संख्या बढ्नु स्वाभाविकै हो । पूर्वाधार विकासका कारणले गर्दा शिक्षा, स्वास्थ्यमा जनताको पहुँचमा पुगेको छ ।

त्यसैले अकाल मृत्यु र कुपोषणबाट नेपाली समाज बिस्तारै मुक्त हुँदै गइरहेको छ । विज्ञान र प्रविधिको तथा चेतनाका कारण जनसंख्या वृद्धिदर घट्नु र औसत आयु बढ्नु जस्ता कारणले ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो क्रममा छ । त्यति मात्र होइन चेतनास्तर वृद्धि सँगै व्यस्त जीवनका कारण पनि एक वा दुईभन्दा बढी सन्तान जन्माउन छाडेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या वृद्धिदर २.१ प्रतिशत थियो भने ज्येष्ठ नागरिकको जनसंख्या वृद्धिदर ३.४ प्रतिशत रहेको देखिन्छ । नेपालको जनसङ्ख्याको ८.१३ प्रतिशत अर्थात २५ लाख वढी ज्येष्ठ नागरिक छन् । पुरुषको भन्दा महिलाको संख्या उच्च छ ।

ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन हुन् । नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक र ७० वर्ष उमेर पूरा गरेका लाई वरिष्ठ ज्येष्ठ नागरिकका रूपमा परिभाषित गरेको छ । नेपालको संविधानको धारा ४१ मा मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ‘’ भनि उल्लेख गरिएको छ ।

मानवअधिकारको विश्वव्यापी घोषणपत्र १९४८, United Nations Principles for older persons 1991, Macau plan of action on ageing1998/Madrid International plan of action on ageing 2002 जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालले उपस्थिति जनाइसकेको छ ।

सोहि अनुसार ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन ज्येष्ठ नागरिक नीति, कार्यनीति तथा दीर्घकालिन अवधारणा ज्येष्ठ नागरिक कार्ययोजना लागू गरिएकोछ । त्यस्तै केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको स्थापना भई जिल्लाहरुमा ज्येष्ठ नागरिक कल्याण समिति गठन गरिएको छ । हामीले बर्तमान सन्दर्भमा ज्येष्ठ नागरिकहरुले आफ्नो जीवनकालमा भोगेका असीमित अनुभवको सदुपयोग देश विकासमा लगाउने योजना तथा नीति राज्यले बनाउन चुक्नु हुन्न । ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति हुन् ।

ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पुँजीका रूपमा विकास गरिनुपर्छ । तर हाम्रो सन्दर्भमा वृद्धवृद्धाप्रति सन्ततिको कर्तव्यबोध र जिम्मेवारीको भावना क्रमशः ह्रास हुँदै गएको छ । सनातनबाट चल्दै आएको ज्येष्ठ नागरिकप्रतिको संरक्षण र सम्मानमा पछिल्लो समयमा विचलन आउन थालेको छ । संयुक्त परिवारबाट एकल परिवारमा बस्ने चलन बढ्दै गएको परिवेशमा आर्थिक, सामाजिक र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदै छ । पारिवारिक स्नेहबाट अग्रज विमुख हुँदैछन् ।

जुन बेला शारीरिक असक्तता, परनिर्भरता र आशामा बाँच्नुपर्छ त्यही बेला हेँला, घृणा र दुर्ब्यबहारको सिकार बनेका घटना पनि नभएका होइनन् । अधिकांश ज्येष्ठ नागरिक बाल्यवस्था जस्तै वृद्ध पनि माया, ममता स्नेह र आधारभूत आवश्यकतामा परनिर्भर हुन्छन् । तर यहाँ यसको उल्टो ज्येष्ठ नागरिक परिवारबाटै अपहेलित हुन पुगेका छन् । ज्येष्ठ नागरिकका इच्छा र चाहनामा कतिपयको ध्यान पुग्न सकेको छैन ।

दुःख, पीडा र हीनताबोध जस्ता निराशाजनक जीवन जिउन विवश वृद्धवृद्धाको सङ्ख्या बढ्दो छ । यस तर्फ गम्भिर हुनु जरुरी छ । काम गर्न सके सबैका प्रिय र नसके अपहेलित हुनु दुर्भाग्य हो । आजका बालक भोलिका ज्येष्ठ नागरिक हुन् भन्ने भुल्नु हुँदैन । हाम्रो पनि त्यहि अवस्था आउँछ भन्ने कुरा सवैले हेक्का राख्नु जरुरी छ । ज्येष्ठ नागरिक एकातिर स्याहारसुसारको आवश्यकता महसुस गर्दै घरमै समय व्यतित गर्न बाध्य छन् भने अर्कोतिर आफ्ना शारीरिक, मानसिक अवस्थाका पीडा बोक्दै बसेका छन् ।

यस्तो अवस्थामा उनीहरूलाई सबैतिरबाट माया, प्रेम र सद्भावको खाँचो छ । भरपर्दो सहारा चाहिएको हुन्छ । ज्येष्ठ नागरिकमा उत्पन्न समस्याको समाधान आफ्नै घरपरिवारबाट मात्र सम्भव छ । घरपरिवारका सदस्यमा कर्तव्य र जिम्मेवारीबोधको खाँचो छ । ज्येष्ठ नागरिक ऐन तथा नियममा भएका कल्याणकारी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि घरपरिबार सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य र जिम्मेवारी बोध हुनुपर्छ । दिवा सेवा तथा दिवा मिलन केन्द्र, अशक्त स्याहार केन्द्रलगायतका सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन र सहकार्यमा सरकारी र गैरसरकारी संघ संस्थाको सद्भाव, सहयोग, सहकार्य र समन्वयमा मात्र ज्येष्ठ नागरिकका लागि गरिएको कल्याणकारी कामले सार्थकता पाउन सक्छन् । वर्तमान युवा पुस्ताले ज्येष्ठ नागरिरकको सम्मान गरे मात्र आउँदो पुस्ताले पनि ज्येष्ठ नागरिकको सम्मान गर्नेछ । ज्येष्ठ नागरिक समाजका अमूल्य निधि र पथप्रदर्शक पनि हुन् भन्ने नभुलौँ र सम्मान गर्न नचुकौँ । ज्येष्ठ नागरिकप्रति गरिने भेदभावविरुद्ध सबैजना आ–आफ्नो ठाउँबाट उभिऔँ ।

यस अवसरमा  ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु आजको आवश्यकता देखिएको छ ।  ज्येष्ठ नागरिक आफ्नो जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेकोले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने हुन्छ ।  ज्येष्ठ नागरिकमा अन्तर्निहित ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास जरुरी छ ।

आफ्नो जीवनको ऊर्जाशील र उत्पादनशील समय राष्ट्रका लागि योगदान गरेका ज्येष्ठ नागरिकको जीवनलाई सहज र सुरक्षित बनाउन सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत सेवा र सुविधाहरूको व्यवस्था गरेको  ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूलाई थप विस्तार गर्दै लैजानुपर्ने आवश्यकता छ ।  माया, ममता र करूणाका खानि रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउन  सम्पूर्ण  ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायू तथा मर्यादित जीवनयापनका लागि यो दिवस फलदायी बनोस ।  ‘मातृदेवो भवः, पितृ देवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गरोस शुभकामना ।

the authoradmin