Thursday, July 16

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय बाजे

नेपालअखबार, काठमाडाैं । बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् ।

Advertisement

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाउनुभएको छ ।

Advertisement
Advertisement

रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्नुहुन्छ । उहाँलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ । हजुरबा (बाजे) को स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको विदा लिई घरमा आउनुभएकी नातिनी विष्णु पुन मगर चौबिसै घण्टा बाजेको स्याहारमा तल्लिन हुुनुहुन्छ ।

Advertisement

एक सय एक वर्षको वृद्ध वय त्यसै नै शिथिल हुन्छ । शारीरिकरूपमा कमजोर भए पनि त्यस्तो अवस्थामा तागतिलो खानेकुरा खाने, परिवारको माया र स्याहार पाउने रहर बढी नै हुन्छ । तर, परिवारका सदस्यले त्यस्ता वृद्धवृद्धाहरूको स्याहार सुसारमा खासै ध्यान नदिँदा उनीहरु शारीरिकपले मात्रै होइन मानसिकरूपमा समेत कमजोर बन्दै जान्छन् र रोगले च्याप्ने गर्दछ ।

तर शिवलाल पुन मगरको हकमा भने यस्तो छैन । उहाँको हेरचाह र स्याहार सुसारका लागि विदेशमा रहँदासमेत नातिनी विष्णुले अनलाइन माध्यमद्वारा नै परिवारका सदस्यहरूलाई निर्देशन दिने, सिकाउने, आवश्यक सामान र सुविधाजनक चिजहरु मगाइदिने गर्नुहुन्थ्यो ।

घरका सदस्यलाई अरु काम छोडेर भए पनि बाजेको स्याहार सुसार गर्न खटाउनुहुन्थ्यो । परिवारका सदस्यले पनि सोहीअनुसार गर्ने भएकाले वृद्ध शिवलाल शारीरिकरूपमा कमजोर भए पनि मानसिकरूपले फुर्तिलो बनेर हँसिलो अनुहारमा परिवारका सदस्यहरूसँग कुराकानी गर्ने, व्यावहारिक कुराहरु सिकाउने, आफन्त, इष्टमित्रहरूको खैखबर बुझ्ने लगायतका कुराहरू गर्नुहुन्छ ।

बाजेको हेरचाहका लागि विष्णु इजरायलबाट घरमा आएर खानपान र हेरचाहको उचित प्रबन्ध मिलाई विदेशमा आफूले जानेको (वृद्धवृद्धाको स्याहार सुसारका विधि) तरिका अपनाई सेवा गर्न थालेपछि शारीरिकरूपमा कमजोरी भएको अवस्थाबाट बौरिएर भान्छामा बसेर आफैँ खाना खाने, परिवारका सदस्यहरूसँग गफिने गर्न थाल्नुभएको छ ।

विगत १५ वर्षदेखि इजरायलमा बस्दै आउनुभएकी विष्णु इजरायलमा वृद्धवृद्धाहरूको स्याहार सुसार गर्ने काम गर्नुहुन्छ ।

गाउँकै सज्जन व्यक्तिका रूपमा चिनिने शिवलालसँग व्यावहारिक ज्ञानको अथाह भण्डार भएको र उहाँ गाउँका लागि सूर्य जस्तै उज्यालो छर्ने व्यक्ति भएको स्थानीयवासीले बताउँछन् । युवाअवस्थामा समेत गाउँमा नै बसेर गाउँको विकास र उत्थानका लागि अहोरात्र खट्ने शिवलालको दीर्घ जीवनको कामना गर्दै दैनिकरूपमा उहाँलाई भेट्न आउनेहरुको भीड नै लाग्ने गर्छ ।

एक सय वर्ष पार गरेका वृद्धवृद्धालाई मानिसको रूपमा नभई भगवान्का रूपमा मानिनुपर्ने धार्मिक मान्यता र सामाजिक प्रचलन समेत छ । उहाँहरुले आफ्नो जीवनकालमा गरेका कामहरु समाजका लागि अनुकरणीय हुने गर्दछन् ।

बेली गाउँमा एक सय वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिक हुनुहुन्छ । विष्णुले दैनिकरूपमा ती जेष्ठ नागरिकहरूको घरमा पुगेर उहाँहरुलाई कसरी स्याहारसुसार गर्नुपर्दछ भनेर परिवारका सदस्यहरूलाई समेत सिकाउनुहुन्छ । आफ्नै खर्चमा ती वृद्धवृद्धालाई आवश्यक पर्ने चिज र पोषिला खानेकुराहरू किनेर लगिदिने, बनाएर खान दिने आदि कामहरू गर्दै आउनुभएको छ ।

शिवलालका एक छोरा र दुई छोरी हुनुहुन्छ । छोरीहरु विवाह गरेर आआफ्नो कर्मघरमा हुनुहुन्छ भने छोरा कहिले लेक गाउँमा त कहिले बेली गाउँमा पशुपालन गर्नुहुन्छ । शिवलालका तीन सन्तानबाट १५ जना छोराछोरी र तिनका २५ जना पनाति, पनातिनी गरेर ४० जनाको परिवार छ । परिवारका सबै सदस्यहरू शिवलाललाई उत्तिकै सम्मान गर्नुका साथै उहाँको रेखदेखमा खटिने गर्नुहुन्छ ।

बाजेलाई प्रसन्न र स्वस्थ राख्न नातिनी विष्णुले हरेक उपाय अपनाउनुहुन्छ । उहाँलाई हँसाउने, फुर्काउने, खुवाउने, सुताउने, उठाउने सबै काम विष्णुले नै गर्दै आउनुभएको छ । बाजेको सेवा गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको र आफूलाई नै भाग्यठानी ठानेको विष्णुको भनाइ छ । उहाँले आफ्नो घरका ज्येष्ठ नागरिकलाई बोझको रूपमा नभई ओजको रूपमा लिन र उहाँहरुलाई सम्मानका साथ रहने वातावरण मिलाउन सबैसँग आग्रहसमेत गर्नुभएको छ । रासस