राजनीतिसमाचार

कात्तिक ४ गतेसम्म स्वतन्त्र उम्मेदवारी निष्क्रिय गर्न कांग्रेसको निर्देशन

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र बागी उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन  दिएको छ ।

कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भई बनेका कांग्रेसका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उमेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारलाई यस्तो निर्देशन दिएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘’२०७९ कात्तिक ४ गतेभित्र सार्वजनिकरुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने ब्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’

यसअघि असोज २६ गतेभित्र उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसले जनाएको थियो । त्यसपछि कांग्रेसले असोज ३१ गतेसम्मका लागि उम्मेदवारी निष्कृय बनाउन निर्देशन दिएको थियो । योबीचमा केही बागीले उम्मेदवारी निष्कृय बनाएका छन् । थप बागीको उम्मेदवारी निष्कृय बनाउन कांग्रेस समय सीमा बढाएको छ ।

the authoradmin