राजनीतिसमाचार

गोरखकाली रबर उद्योग फेरि सुरु गर्छौ : प्रचण्ड

नेपालअखबार, गाेरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउन बताएका छन् ।  शुक्रबार चुनाव प्रचारका लागि गोरखा नगरपालिका पुगेका उनले मतदातालाई सम्बोधन गर्दै लामो समयदेखि बन्द रहेको रबर उद्योग पुन सञ्चालन गर्ने बताएका हुन् ।

‘सबैले गौरव गर्नुपर्ने धेरै राम्रो संरचना छ । ती संरचना यतिकै थन्किएका छन् । गोरखकाली टायर उद्योग यसलाई नयाँ व्यवस्थासहित सञ्चालन गर्छौँ  र यहाँका नागरिकलाई पुन रोजगारी र समृद्धिका लागि उपयोग गरिनेछ,’ प्रचण्डले भने ।

गोरखा नगरपालिका १३ स्थित रहेको गोरखकाली उद्योग नेपालकै एकमात्र रबर उद्योग हो ।  २०७२ सालको असारपछि कर्मचारी र मजदुरलाई तलब भत्ता तिर्न नसकेर काम नहुँदा उद्योग बन्द छ । प्रत्येक दिन ठूलो टायर ३ सय थान र सानो टायर २५० थान उत्पादन गर्ने क्षमता रहेको उद्योगमा ९७ कर्मचारी र १३५ मजदुर थिए ।

उद्योगमा चिनिया प्रविधिका १९९० दशकको मेसिन छन् । अपग्रेडिङ्ग गरेर नयाँ प्रविधि प्रयोग गरी उद्योग चलाउन नसक्दा उद्योग बन्द भएको हो । उद्योगबाट उत्पादन हुने टायर नेपालको ग्रामीण सडक सुहाउँदो भएको चर्चा छ । तर,गोरखा २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः उद्योग सञ्चालन गर्ने बताएका हुन् । यसका लागि उनले पूर्वाधार र स्थानीयहरुलाई रोजगार दिने उल्लेख गरे ।

उद्योगमा अझै पनि करिब १५ करोडको कच्चापदार्थ मौज्दात रहेको एक कर्मचारीले बताए । उनका अनुसार ०७२ असारसम्म २१ करोड ६० लाख ६१ हजार रूपैयाँ तलब दिन बाँकी थियो । ६४ जना कर्मचारीलाई उपदान दिनुपर्ने बाँकी नै छ ।
२०४९ सालमा स्थापना भएको उक्त उद्योग कमजोर व्यवस्थापनका कारण उद्योग नियमित रुपमा चल्न नसकेको स्थानीयबासीहरु बताउँछन् ।  स्थानीय नरबहादुर खड्काका अनुसार कर्मचारीको भ्रष्टाचारका कारण उद्योग बन्द भएको बताए । ‘तल्लो स्तरका कर्मचारीलाई तलब भत्ता नदिने तर, पहुँचमा रहेका कर्मचारीले भ्रष्टाचार गर्दा उद्योग बन्द भयो’ उनले भने ।

खड्काले कर्मचारीको सम्पत्ति विवरण छानबिन गर्नुपर्ने बताए । ‘स्थानीयहरुले रोजगार पाएको थिए । पदमा रहेका कर्मचारीले कच्चापदार्थ लुकाएर बेच्ने गर्दा उद्योग बन्द भयो । यसको प्रत्यक्ष असर यहाँका जनतालाई परेको छ ।’

the authoradmin