
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। उनीहरु तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलि हाउसमा रात बिताउन बाध्य भएको बताएका छन्।
भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरु समस्यमा परेको बताएका हुन्। गत मङ्गलबार रातिको भूकम्पमा परी यहाँका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ। कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ। स्थानीय भरत बोहराले भने, “सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरु पोलि हाउसमा आगो बालेर रात बिताउन बाध्य छौँ।”
नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरुप वितरण गरे पनि पीडितलाई अपुग भएको छ। नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले भूकम्पले ज्यान गुमाएको परिवारका सदस्यलाई एक लाख ५० हजार तथा नेकपा एमाले डोटीबाट एक लाख आर्थिक सहयोग प्राप्त भएको थियो।
अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन्। गाउँभरिमै भूकम्पको पीडाले सन्नटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बादर र मुसाले खान थालेको पीडितहरु बताउँछन्। खानका लागि एक मानो चामल र पीठोसमेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेको अर्की पीडित मनसरा बोहराले बताए।

