Thursday, May 7

नक्कली सुन धितो राखेर बैंकबाट लिए २४ लाख ऋण!

नेपालअखबार, पाेखरा । पोखरामा प्रहरीले नक्कली सुन धितो राखी ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका-२५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

Advertisement

उनका अनुसार सुनारले बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण लिएका थिए।

यस्तै, सुनारले बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको खुलेको प्रहरी उपरीक्षक तिवारीले बताए।

उनका अनुसार ऋणको किस्ता तिर्न सुनार नआएपछि सुन जाँच गर्दा नक्कली भेटिएको हो।

अनुसन्धानका क्रममा निजले धितो राखेको सुनचाँदी व्यवसायी संघ कास्कीमा चेकजाँच गर्न पठाउँदा धितो राखिएको गहना नक्कली भेटिएको परीक्षण प्रतिवेदन उल्लेख भएको उनले बताए।

सुनारमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति लिएको प्रहरीले जनाएको छ।