नेपालअखबार, काठमाडाैं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोसेको जर्मनी नकआउट चरणमा पुग्न प्रेरित हुनेछ । पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको थियो ।
६२औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकर अल्भारो मोराटाले गोल गरेपछि जर्मनीको दवाव अझै बढेको थियो । फेरान टोरेसलाई प्रतिस्थापन गरी मैदान छिरेको ८ मिनेटमै मोराटाले जोर्डी अल्बाको पासमा ट्याप इन गोल गरेका थिए ।
समूहको पहिलो खेलमा कोस्टारिकालाई ७ गोल गरेको स्पेनले जर्मनीसँग भने अग्रता जोगाउन सकेन । ८३औं मिनेटमा स्पेनिस रक्षापंक्तिकोे कमजोरीको फाइदा उठाउँदै सब्स्टिच्युड निक्लास फुुलक्रगले गोल गरे । उनलाई जमाल मुसियालाले असिस्ट गरेका थिए ।