Saturday, July 4

समानुपातिक मत गनेर सकियो

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ पनि मत गनेर सकिएको बताएको छ।

Advertisement

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले समानुपातिकतर्फ मतगणना सकिएको जानकारी दिए। आयोगको वेबसाइटमा प्रविष्ट गरिएअनुसार १ करोड ५ लाख ६० हजार ८२ मत गनिएको हो।

Advertisement
Advertisement

नेकपा एमालेले सबैभन्दा धेरै २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ भने नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेको छ।

Advertisement

उनकाअनुसार आज आयोगले समानुपातिकतर्फ कुन दलले कति सिट प्राप्त गरेको हो भन्नेबारे घोषणा गर्नेछ।

साथै दलहरूलाई आयोगले पत्रसमेत दिनेछ।

दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची यसअघि नै पेश गरिसकेका छन्। उक्त बन्दसूचीअनुसार अब समानुपातिकतर्फका उम्मेदवारलाई निर्वाचित गर्ने प्रक्रिया सुरू हुन्छ।

दलहरूले समावेशी प्रतिनिधित्वको सिद्धान्तअनुसार समानुपातिक सांसद पठाउनुपर्ने हुन्छ। संघीय संसदमा दलको ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्दछ।

समानुपातिक मतअनुसार सबैभन्दा धेरै नेकपा एमालेले सांसद पाउने देखिन्छ। एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमतले ५ सिट पाउने भएका छन्।

नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा राष्ट्रिय पार्टी बनेनन्।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, जसपा ७, राप्रपा ७, लोसपा ४, स्वतन्त्र ५, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चा १, नेमकिपा १ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन्।