Thursday, May 7

आजदेखि फेरि काठमाडौंका घर-घरमा आउँदैछ मेलम्चीको पानी

नेपालअखबार, काठमाडाैं । काठमाडौंका घर-घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिने भएको छ।

मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट मेलम्चीको पानी सुरूङमा पठाइएको थियो।

Advertisement

अम्बाथानबाट २६ किमी सुरूङ हुँदै मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्छ। सुन्दरीजलमा पानी शुद्धिकरण गरेपछि काठमाडौंका घरघरमा वितरण गर्ने गरिन्छ।

गत वर्ष पनि मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको थियो। तर बर्खा लागेपछि मेलम्चीको पानी ल्याउन छाडिएको थियो।

खानेपानी मन्त्री उमाकान्त चौधरीले आज महाँकालमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी वितरणको सुरूवात गर्नेछन्।

मेलम्ची खानेपानी विकास समितिले अब छ महिना मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न सकिने र कुनै अवरोध नआउने बताइरहेको छ। अम्बाथानमा अस्थायी संरचना तयार गरेर पानी ल्याइएको छ।

आजदेखि दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरूङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए।