खेलकुदसमाचार

आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा, एक विदेशीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने

नेपालअखबार, पाेखरा । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ क्लबको आयोजनामा २२औँ संस्करणको सो फुटबल प्रतियोगिता पोखरा फुटबल रङ्गशालामा हुनेछ । प्रतियोगितामा एक विदेशीसहित १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष हरिराम(सुरज) गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ म¥र्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र सहारा क्लब पोखराको सहभागिता हुनेछ ।

आयोजक सहाराले यस पटकको संस्करणमा पुरस्कार राशिमा वृद्धि गरेको छ । क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले रु २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ ले रु आठ हजार पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताए ।

प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको सो एकेडेमीमा १० जिल्लाका १३ बालकले  आवासिय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् ।

सहारा क्लबले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार प्रदान गर्ने भएको छ । यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई सो पुरस्कार प्रदान गर्न लागिएको क्लबले जनाएको छ । रासस

the authoradmin