गोरखा- गोरखा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा क्षति भएका ७ सय ५३ सम्पदामध्येमा चार वर्षका अवधिमा ३ सय ८७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।
हालसम्म ५१ दशमलव ३९ प्रतिशत प्रगति भएको देखिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार १ सय २३ सम्पदा पुनःनिर्माणका चरणमा छन् । त्यस्तै पुनःनिर्माण शुरु हुन अझै २ सय ४३ सम्पदा बाँकी छन् ।
प्राधिकरणका अनुसार चार वर्षका अवधिमा हालसम्म सबै विषयमा सरकार र दातृ निकायबाट रु दुई खर्ब ९३ अर्ब र गैरसरकारी संस्थामार्फत रु ४२ अर्ब गरी जम्मा रु तीन खर्ब ३५ अर्ब खर्च भएको छ ।
अझै बाँकी संरचना पुनःनिर्माणका लागि रु तीन अर्ब आवश्यक रहेको प्राधिकरणले अनुमान गरेको छ । त्यस्तै चालु आर्थिक वर्षभित्र तय गरिएका कार्यक्रमका निम्ति कम्तीमा रु ३४ अर्बको स्रोत सुनिश्चित गर्नुपर्ने छ ।