राजनीतिविचारसमाचार

मन्त्रीहरुलाई अनिवार्य नेपाली पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : पाण्डे

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एकपटक नेपाली उत्पादन प्रयोगको शुरुवात गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।

पाण्डेले सरकारी कार्यालयमा कर्मचारीहरुले हप्ताको एकपटक नेपालमा उत्पादित पोशाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गरे । उनले मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरुले अनिवार्य रुपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे । उनले आगामी दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरी घरेलु उद्योगहरुको प्रोत्साहन गर्नुपर्ने बताए । उनले आफू बागमती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय ट्रेनिङ दिने काम शुरु गरेको बताए । उनले आगामी दिनमा सरकारले ५ लाखलाई वार्षिक तालिम दिनेगरी काम अघि बढाए सीपयुक्त नेपालीको देश बन्ने बताए ।

उनले भने, ‘तपाईका क्याबिनेट बैठकमा कम्तीमा मन्त्रीले नेपाली उत्पादन लगाएर आउने व्यवस्था गर्नुहोस् । साथै हरेक आईतवार वा सोमवार, हप्ताको एक पटक नेपाली उत्पादनको प्रयोग गर्ने क्रम चलाउनुहोस् । यसले स्वदेशी उत्पादन प्रयोग गर्न मद्दत पुग्छ । म मुख्यमन्त्री हुँदा हस्तकला ग्रामको अभियान अघि बढाएँ । विज्ञान प्रविधिलाई महत्व दिऔं । त्यसबाट घरेलु उद्योगहरुको प्रोत्साहन गरेर अघि बढौँ । बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय ट्रेनिङ दिने वागमती प्रदेश सरकारले १५ करोड छुट्याएर काम शुरु गरेको छ । यसले महत्वपूर्ण भुमिका खेल्छ । संघीय सरकारले ५ लाखलाई वार्षिक तालिम दिने गरौँ । सीपयुक्त नेपालीको देश बनाऔँ ।’

सांसद पाण्डेले प्रधानमन्त्री दाहाल देशकै बलियो प्रधानमन्त्री भएकाले राष्ट्रको सीप र कलाको लागि आवश्यक कामहरु पूरा गर्न आग्रह गरे ।

the authoradmin